October 5, 2026

समृद्ध नेपालका लागि ५ आधारमा जोड

0

बिर्तामोड ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन पाँचवटा आधार पार गर्नुपर्ने बताएका छन् ।

समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन कृषिको आधुनिकीकरण, आवश्यकतामा आधारित उद्योग स्थापना, पर्यटन प्रर्वद्धन, ऊर्जा उत्पादन र भौतिक पूर्वाधारहरुको विकास हुन जरुरी रहेको मन्त्री पोखरेलले बताए ।

झापाको बिर्तामोडमा शुक्रवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला स्कूल विभागले शुरु गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीका स्कूल विभाग प्रमुख समेत रहेका उपप्रधानमन्त्री पोखरेलले कृषिलाई व्यवसायिकीकरण गर्दै भू–उपयोग नीति बनाएर चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले सरकारले अब आबश्यकतामा आधारिकत उद्योगको स्थापना गर्दै औषधि, कपडा उद्योग निर्माण, औद्योगिक क्षेत्र निर्माण, ऊर्जा उद्योग उत्पादनका क्षेत्रमा काम गर्ने बताए ।

पर्यटन प्रवद्र्धनका लागि धार्मिक र ऐतिहासिक क्षेत्रको पहिचान गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिने उनले बताए । ऊर्जा उत्पादन र पूर्वाधारको विकासमा सार्वजनिक खरिद ऐन नै वाधक रहेकाले त्यसलाई बदल्न सरकार लागीपरेको उनको भनाइ छ । उनले शिक्षा र स्वास्थ्यको पूर्वाधार खडा गर्न समेत सरकार लागीपरेको बताए ।

स्कूल विभागका प्रमुख रमेश गुरागाँईको अध्यक्षतामा कात्तिक १४ र १५ गते आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलसहित पार्टीका स्कूल विभागका सहसंयोजक देवेन्द्र पौडेल, युदुराम भुषाल, स्कूल विभागका प्रदेश सहइञ्चार्ज सावित्रीकुमारी काफ्ले, नेकपाका प्रदेश अध्यक्ष देवराज घिमिरे, केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल, प्रदेश इञ्चार्ज भीम आचार्य, विदेश विभाग प्रमुख राम कार्की लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा माक्र्सवादी अर्थशास्त्रका विषयमा ईश्वरी रिजाल, विभिन्न देशमा समाजवादका मोडल र नेपालको मोडेलका विषयमा देवेन्द्र पौडेल, समृद्धि र सरकारले गरेका कामका विषयमा देवराज घिमिरे, पार्टीको विधान र नियमावलीका विषयमा सावित्रीकुमारी काफ्ले, कम्युनिष्ट आन्दोलनको इतिहासका विषयमा राम कार्की, पार्टीको कार्यदिशा र कार्यभारहरुका विषयमा भीम आचार्य, समसामयिक परिस्थिति र हाम्रो भूमिका विषयमा ईश्वर पोखरेलले प्रशिक्षण दिएका थिए ।

हरि राजवंशीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, झापा इञ्चार्ज रवीन कोइराला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिव ढुङ्गेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *