September 16, 2026

बम पड्काएको आरोपमा विप्लवका इन्चार्ज र सेक्रेटरी पक्राउ

0

इटहरी

सुनसरीको इटहरी र धरानका बोर्डङमा बम पड्काएको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका दुई जिल्ला नेता पक्राउ परेका छन्।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान टिम र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले विप्लव समुहका सुनसरी इन्चार्ज विश्वास भनिने लक्ष्मण पौडेल र जिल्ला सेक्रेटरी सन्देश भनिने सन्तोष बिष्टलाई पक्राउ गरेको हो ।

इटहरी उपमहानगरपालिका- १७ बालग्रामको एक घरमा बैठक बसिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बैठकमा प्रयोग भएका सामानसहित अन्य कागजात प्रहरीले बरामद गरेको छ । उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरी ल्याइएको छ।

पक्राउ परेका बिष्ट भदौ १९ गते इटहरीस्थित सुस्मा गोदावारी कलेजमा बम राख्न संलग्न भएको दाबी प्रहरीले गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका पौडेल विप्लप समुहको सुनसरी जिल्ला ईन्चार्ज तथा मेची कोशी ब्युरो सदस्य हुन्। विष्ट सुनसरी जिल्ला सेक्रेटरी तथा मेची कोशी ब्युरो सदस्य हुन्।

उनीहरुलाई बिस्फोटन तथा संगठित अपराध मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि म्याद लिन मंगलबार सुनसरी जिल्ला अदालतबाट म्याद लिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *