June 19, 2026

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न उपराष्ट्रपतिको आग्रह

0

काठमाडौँ,

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गर्नुभएको छ ।

चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र समाज कल्याण परिषद्द्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विगतमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याए जस्तै गरी सामाजिक सङ्घसंस्था र अभियानकर्मीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्नु सामाजिक सङ्घसंस्थाको कर्तव्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा मात्रै सामाजिक सङ्घसंस्था फस्टाउन सक्ने र सामाजिक काम पनि गर्न सम्भव हुन्छ, वर्तमान राजनीतिक परिवर्तन र उपलब्धिका लागि सामाजिक सङ्घसंस्थाले खेलिरहेको भूमिका सराहनीय छ, आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणका लागि निर्वाह गरेको भूमिकाका लागि सामाजिक सङ्घसंस्थालाई धन्यवाद दिँदै प्राप्त उपलब्धिप्रति गौरव गर्न आग्रह गर्दछु ।”

उपराष्ट्रपति पुनले केहीले राम्रो काम गरिरहेको उदाहरण भए पनि ती सामाजिक संस्थाको रकम लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो आइरहेकाले लक्षित समुदायलाई परनिर्भरताभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा कुनै सानो सामाजिक कामका लागि बैठक बसौँभन्दा भत्ता कति आउँछ भन्ने प्रवृत्ति निकै बढेको पाइन्छ, जस्तो कर्णालीका स्थानीय जनताका लागि स्थानीय उत्पादनमा जोड दिने र त्यसबाट आर्थिक उत्पादनको सोचको विकास गर्नुभन्दा निरन्तर चामल पठाइराख्ने र परनिरर्भर बनाइराख्नेमा मात्रै हामी केन्द्रित भएका त छैनौँ ।”

उहाँले गैरसरकारी सङ्घसंस्थाले काठमाडौँका ठूला होटलहरुमा कार्यक्रम गरेर पैसा सक्नुको सट्टा कर्णालीका जनतालाई स्याउ, जडीबुटी, पशुपालनमा लाग्न प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यक औँल्याउनुभयो । महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गैरसरकारी संस्थाको प्रभावकारी परिचालनमार्फत देशको आर्थिक भौगोलिक क्षेत्रका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता क्षेत्रलगायत समग्र कल्याणका क्षेत्रमा परिषद्ले योगदान पु¥याउँदै आएको बताउनुभयो ।

उहाँले अब बन्ने परिषद्को ऐन नेपालको संविधानको उद्देश्य र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । परिषद् सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी सङ्घसंस्थाको सहजीकरण, समन्वय र ती संस्थाले सञ्चालन गर्ने कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्न स्थापना गरिएको स्वायत्त निकाय हो । हाल नेपालमा कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था परिषद्बाट स्वीकृति लिएर काम गर्दै आएका छन् ।

हाल २५० भन्दा बढी अन्तर्राष्ट्रिय र ५० हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था परिषद्मा आबद्ध छन् । कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *