May 3, 2026

जन्मदिनमा पत्रकार उपचार कोषलाई १ लाख ५१ हजार

0

बिर्तामोड।


नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–१ निवासी मोहन ढकालसहित ढकाल परिवारले एक लाख ५१ हजार एक सय एक रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नी नातिनी तथा छोरी मानुषी ढकालको चौथो जन्मोत्सवको अवसर पारी मोहन र शीला तथा मनश्वी र चेतना ढकालले आज बिहीबार आफ्नै निवासमा कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

मोहन ढकाल कल्पतरु केरियरका सञ्चालक एवं ढुवानी व्यवसायी हुन् । ढकाल दम्पत्ति सामाजिक
काममा समेत सक्रिय छन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष तथा नेपाल भारत मैत्री संघ बिर्तामोडको वर्तमान अध्यक्ष हुन् । श्रीमति शीला वीरता लेडी जेसीज लगायत विभिन्न संस्थामा आवद्ध छिन् ।

‘आफू पत्रकार नभए पनि जोखिमपूर्ण पेशामा संलग्न पत्रकार र पत्रकारितालाई नजिकबाट चिनेको तथा त्यस क्षेत्रका समस्यालाई महसुस गरेको छु’–मोहन ढकालले भने–‘जेठा दाजु स्व.मदन ढकालले पत्रकारितामा पुर्याउनु भएको योगदान स्मरणीय छ, भाइ लक्ष्मण ढकाल  पत्रकारितामै क्रियाशील रहेका कारण पनि पत्रकारकै हितका लागि सहयोग गरेका हौं ।’

आफ्नो कमाईको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ पत्रकार उपचार कोषलाई सहयोग गरिएको ढकालले बताए ।

पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित महासंघद्धारा सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन समेत उनीहरुले आग्रह गरे ।

कोषलाई रकम हस्तान्तरण कार्यक्रममा अग्रज पत्रकार लक्ष्मण ढकाल महासंघकी उपाध्यक्ष भीमा शिवाकोटी, कोषका सचिव तथा महासंघका सहसचिव केशव भट्टराई, कोषका सदस्य तथा महासंघ कार्यसमिति सदस्य विनोद सापकोटा, पत्रकारहरु सुरेन्द्र भण्डारी, विनोद पाण्डे, विजय बराल लगायतको उपस्थिति रहेको थियो ।

महासंघका अध्यक्ष तारामणि सापकोटाका अनुसार कोषको व्याजबाट घाइते तथा विरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ । कोषमा हाल ४० लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा कोषका संयोजक एकराज गिरीले जानकारी दिए । पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेका एक सयभन्दा बढी पत्रकार समेत कोषको सदस्य भइसकेका छन् ।

कोषबाट सुविधा लिनका लागि महासंघका सदस्यले अनिवार्यरुपमा कोषको सदस्य बन्नुपर्ने कार्यविधिमा व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *