May 4, 2026

वडा अध्यक्ष र कर्मचारीसहित ४६ जना संलग्न, पाँच जना पक्राउ, ४१ जना अझै फरार

0

भद्रपुर,

 जिल्ला प्रशासन कार्यालय झापाबाट १६ जना गैर नेपालीलाई नागरिकता दिएको घटनामा ४६ जनाको संलग्नता रहेको खुलेको छ । त्यसमध्ये पाँच जना पक्राउ परिसकेका छन्, भने ४१ जना अझै फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । गैर नेपालीलाई नागरिकता दिएको आरोप लागेका कर्मचारी, वडा अध्यक्ष, टोली प्रमुख, स्थानीय, एजेन्ट गरी ४६ जनाको नाममा प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

पक्राउ पुर्जीको आधारमा प्रहरीले प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपाने र बिर्तामोड नगरपालिका ८ नम्बर वडा कार्यालयका वडा सचिव लोकराज बराल, बिर्तामोड ५ बस्ने टेकबहादुर गुरुङ, भद्रपुर १० बस्ने प्रेम तिम्सिना र भद्रपुर १० धनुष मोड बस्ने बिकेन्द्र भन्ने भीमबहादुर लिम्बुलाई पक्राउ गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

यी व्यक्तिको नाममा पक्राउ पुर्जी जारी

जिल्ला प्रशासन कार्यालय झापाको चलानी नम्बर ८३२ को पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी टेकबहादुर गुरुङ, समेत भएको झुठ्ठा विवरण पेस गरी सरकारी छाप, दस्तखत गरी गैर नेपाली नागरिकलाई नेपाली नागरिकता बनाई दिएको मुद्दाको अनुसन्धानको सिलसिलामा विभिन्न मितिमा झुठ्ठा विवरण र किर्ते प्रमाणका आधारमा १६ जना गैर नेपाली नागरिकहरूले नेपाली प्रमाणपत्र प्राप्त गरेको देखिएकाले त्यसी झुठ्ठा विवरणका आधारमा नेपाली नागरिकता प्राप्तिको लागि सिफारिस वा सनाखत गरी नागरिकता प्रमाणपत्र दिलाउने तपसिल उल्लिखित कर्मचारीहरू लगायतको संलग्नता रहेको देखिएको हुँदा निजहरूलाई पक्राउ गरी मुद्दाको अनुसन्धान गर्नुपर्ने भएको र फरार कसुरदारहरू उपर झापा जिल्ला अदालतबाट भदौ १३ गते पक्राउ अनुमति प्राप्त भइसकेको प्रहरी कार्यालय झापाको पत्रमा उल्लेख छ ।

पक्राउ गर्न अनुमति प्राप्तहरूमा बिर्तामोड नगरपालिका ८ नम्बर वडा अध्यक्ष अजय कार्की, भद्रपुर नगरपालिका ९ नम्बर वडा अध्यक्ष शनिलाल राजवंशी, प्रशासन झापाका अधिकृत गौरव ढुङ्गेल, नायव सुब्बा मेघराज निरौला, खरिदार तेजिन्द्र न्यौपाने, प्रशासकीय अधिकृत चूडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, बिर्तामोड नगरपालिका ८ नम्बरका वडा सचिव लोकराज बराल, भद्रपुर नगरपालिका ९ नम्बरका वडा सचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपाने रहेका छन् ।

यी मध्ये खरिदार न्यौपाने र वडा सचिव बराल पक्राउ परिसकेका छन् । अरू फरार रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । ‘फरार रहेका जनप्रतिनिधि र कर्मचारी पक्राउ गर्न प्रहरी परिचालन गरिसकेका छौ’, प्रहरी उपरीक्षक मैनालीले भने, ‘घटना संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा प्रहरीले पक्राउ गरी कानुनी दायरमा ल्याएर छाड्छ ।’

यस्तो रहेछ गृहदेखि प्रहरीसम्मको छानबिन

विदेशीलाई नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्ति, झुटो र किर्ते प्रमाणपत्र खडा गरी वा बनाई प्रचलनमा ल्याउने लगायतका कार्य गर्ने गर्ने गरेको भन्ने गृह मन्त्रालयमा उजुरी प्राप्त परेपछि गृह मन्त्रालयले प्रशासन कार्यालय झापामा २०७६ असार ३ गते छानबिन सुरु गरेको थियो ।

गृहले सोही मितिमा थप अनुसन्धानका लागि सिआइबीलाई जिम्मा दिएको थियो । गृहको आदेश बमोजिम सिआइबीले नागरिकताको विषयमा छानबिन गरेको राय भदौ २ गते गृहमा पेस गरेको थियो । गृहले सिआइबीको राय बमोजिम प्रशासन कार्यालय झापामा भदौ ५ गते पत्र पठाएको थियो ।

 त्यसपछि प्रशासन कार्यालय झापाले प्रहरी कार्यालय झापालाई भदौ ८ गते पत्र पठाएको र भदौ १३ गते झापा अदालतमा मुद्दा दर्ता भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

 यता पक्राउ पुर्जीको बारेमा प्रहरी कार्यालय झापाले भदौ १३ गते नै बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकालाई बोधार्थ पठाएको पत्र पठाइसकेको छ ।

 प्रहरी कार्यालय झापाका अनुसन्धान अधिकृत केशव अधिकारीले समन्वय समिति झापा, प्रशासन कार्यालय झापा, बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकालाई जानकारी र आवश्यक कार्यार्थका लागि पठाएको पत्रमा उल्लेख गरिएको छ ।

नौ जनाको बुबा आमा एउटै कायम

प्रहरी स्रोतका अनुसार १६ गैर नेपालीलाई नागरिकता दिँदा प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेले सनाखत गराएका थिए ।

 नायव सुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप लगाइएको छ भने, अधिकृत ढुङ्गेलले सही गरेर नागरिकता जारी गरेको अहिलेसम्मको छानबिनमा देखिएको छ ।

 १६ जना गैर नेपालीलाई नागरिकता जारी गर्दा नौ जनाको बाबु आमा एउटै कायम गरिएको छ । गैर नेपालीलाई नागरिकता दिँदा विभिन्न एजेन्ट र बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *