May 4, 2026

हात्ती आहालमा ‘सावसंसस’को वन संरक्षण सम्बन्धी अन्तरक्रिया

0

अर्जुनधारा।

सामुदायिक वन संरक्षण सञ्जाल समूहको आयोजनामा वन संरक्षण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

अर्जुनधारा–१स्थित हात्तीआहालमा समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न निर्णयहरु पारीत गरिएको छ ।

वन संरक्षण सम्बन्धी निर्णयका बुँदाहरुमा आगामी दिनमा उपभोक्ताहरुको परिचालन गरि वन संरक्षण गर्ने, उपभोक्ताहरुको सम्पन्नता स्तरीकरण गरि गरिबीको पहिचान गर्ने, उपभोक्ताहरुलाई परिचालन गर्नका लागि प्रत्येक वन क्षेत्रका उपभोक्ताहरुमा घरदैलो गरी उनीहरुले अधिकार उपयोग गर्नलाई अनिवार्य गस्तीमा सहयोग पु¥याउनुपर्ने, दुवैतर्फका वन कर्मचारी, सामुदायिक वन कार्यसमिति तथा वन हेरालुको संयुक्त वन गस्तीलाई प्रभावकारी बनाउने, स्थानीय तह र संघ–संस्थासँग समन्वय गर्नेलगायत उल्लेख गरिएको छ ।

त्यसैगरी अर्जुनधारा–२मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूह, रोङ–२मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूह, रोङ–४मा रहेका जनज्योती सामुदायिक वन उपभोक्ता समूह, नमूना सामुदायिक वन उपभोक्ता समूह र हडियाचुली सामुदायिक वन उपभोक्ता समूहलाई समूहमा समावेश गर्ने निर्णय पारित गरेको छ ।

त्यसैगरी कार्यक्रममा समूहका अध्यक्ष लोहारले समूहको उद्धेश्य, चुनौती, समाधान र निष्कर्शसहितको कार्यपत्र प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा जनज्योती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन तामाङ, तिनतले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नन्दकुमार राई, बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्र कुँइकेल, रामजानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उमाकान्त अधिकारी, सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बलबहादुर तामाङ, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष सन्त मगर र हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र तामाङले समूहको गतिविधि बारे जानकारी गराएका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय ईलामका प्रमुख मेघराज राई, रोङ सब डिभिजन वन कार्यालयका प्रमुख इन्द्रदेव यादव, त्रिगाँउ जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रका अध्यक्ष हरिप्रसाद दाहाललगायतले वनको संरक्षण गर्ने विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । हचुमासा सामुदायिक वन उपभोक्ता समूहकी सचिव प्रभा नेपालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समूहका सचिव इन्द्र कुँइकेलले गरेका थिए ।

सबै मिलेर वनको संरक्षण सम्वद्र्धन गरि वातावरण तथा पर्यावरणलाई जोगाउन, बाढीपहिरो र भूक्ष्यबाट बचाउन, वन्यजन्तु तथा चराहरुको बासस्थान सुरक्षीत राख्न र विभिन्न किसिमको रोजगारी सृजना गरि उपभोक्ताहरुको आर्थिक जीवनस्तर उकास्ने उद्धेश्यले झापा र ईलाम जिल्लाका आठ वटा सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा गत जेठ २७ गते सो सञ्जाल गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *