May 5, 2026

तातोपानीलाई नाकाबन्दी

0

इलाम।

इलामको रोङ गाउँपालिका–६को बिकट टोल तातोपानीलाई नाकाबन्दी लागेको छ । पूर्वमा भारतको सीमाना नजिकै रहेको सो टोलको उत्तरमा पुलबिहीन सिद्धिखोला रहेकोले बर्षात्मा आवतजावत ठप्प रहने गरेकोमा गाउँमा जाने एक मात्र बाटो पनि निमार्णाधीन सिद्धि हाइड्रोले बनाएको पहँुचमार्ग भेलले पहिरो बनाएपछि त्यस टोलमा बसोबास गर्ने करिव डेढ दर्जन जति परिवार नाकाबन्दीमा परेका हुन् ।

अहिलेसम्म कसैले सहयोग नगरेको कारण स्थानीयबासीहरुले चारबर्ष अघि लाखौ रुपैयाँ खर्च गरेर बाटो निमार्ण गरेको थिए । बाटो निमार्णको लागि गाउँलेहरुले ४६ हजारसम्म लगानी गरेको स्थानीय प्रेम राईले बताए तर अहिले हाइड्रोको पावर हाउस जाने बाटो निर्माण कम्पनीले नै बनाउने भनेको भए पनि सोही गाउँको भुडेसरासम्म बनाएको सडकमा नालीको ब्यवस्था नगर्दा भेलले गाउँलेले बनाएको बाटो बगाएर खहरे खोला जस्तै बनाएको छ ।

यसका कारण स्थानीयहरुले उत्पादन गरेको कृषि उपज बजार लैजान र दैनिक उपभोगका सामानहरु ल्याउन असहज भएको स्थानीय गणेश राईको भनाइ छ । बाटो खहरे खोला जस्तो भएको छ, अहिले त्यस ठाउँका बालबालिकालाई बिद्यालय आवतजावत गर्न समेत असहज रहेको स्थानीयवासीहरुले गुनासो गरेका छन् । यस बारेमा रोङ गाउँपालिका वडा नं. ६का पदाधिकारीहरुलाई जानकारी गराइएको भए पनि हालसम्म केही नभएको स्थानीयबासीले गुनासो गरेका छन् ।

यता रोङ गाउँपालिका र सूर्याेदय नगरपालिकाको सीमानामा रहेको सिद्धि खोलाबाट बिजुली उत्पादन गर्न बिगत बर्षदेखि नै सिद्धि हाइड्रोले काम गर्न थालेको भए पनि करिव ६ महिनादेखि काम ठप्प रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *