September 16, 2026

पत्रकार उपचार कोषलाई एक लाख दिने ढकाल दम्पत्तिको घोषणा 

0

बिर्तामोड।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–१ निवासी मोहन ढकाल र शीला ढकालले एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

असोज पहिलो साता परिवारको विशेष दिनको अवसर पारी उनीहरुले पत्रकारको हितका लागि उपचार कोषमा उक्त रकम प्रदान गर्ने जनाएका छन् ।

मोहन ढकाल कल्पतरु केरियरका सञ्चालक एवं ढुवानी व्यवसायी हुन् । ढकाल दम्पत्ति सामाजिक काममा समेत सक्रिय छन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष तथा नेपाल भारत मैत्री संघ बिर्तामोडको वर्तमान अध्यक्ष हुन् । श्रीमति शीला वीरता लेडी जेसीज लगायत विभिन्न संस्थामा आवद्ध छिन् ।

‘आफू पत्रकार नभए पनि पत्रकार र पत्रकारितालाई नजिकबाट चिनेको तथा त्यस क्षेत्रका समस्यालाई महसुस गरेको छु’–मोहन ढकालले भने–‘जेठा दाजु स्व.मदन ढकालले पत्रकारितामा पुर्याउनु भएको योगदान स्मरणीय छ, त्यसकारण पनि पत्रकारकै हितका लागि सहयोग गर्न लागेका हौं ।’

आफ्नो कमाईको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ पत्रकार उपचार कोषलाई सहयोग गर्न लागिएको उनीहरुले बताए ।

पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन समेत उनीहरुले आग्रह गरे ।

महासंघका अध्यक्ष तारामणि सापकोटाका अनुसार कोषको व्याजबाट घाइते तथा विरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ ।

कोषमा हाल ४० लाख रुपैया जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा कोषका संयोजक एकराज गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *