September 16, 2026

रेडियोलोजिष्ट देवानको प्रशंसनीय काम

0

दमक।

झापाको दमकस्थित जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालमा भिडियो एक्स–रे मेसिन बिग्रिएर डेढ महिनाभन्दा बढी सेवा अवरुद्ध भएपछि यहाँ कार्यरत् चिकित्सकले आफ्नो भिडियो एक्स–रे मेसिन अस्पतालमा लगेर सेवा प्रदान गर्न थालेका छन् ।

रेडियोलोजिष्ट हिमाल देवानले आफ्नो भिडियो एक्स–रे अस्पतालमा लगेर सेवा दिन शुरु गरेका हुन् । ‘नयाँ वा बनाएर चाँडै आउँछ भनेर केही समय कुरेको र नआएपछि आफैले ल्याएर सेवा दिन थालेको हुँ’ –देवानले भने ।

१५ लाख रुपैयाँमा निकै बर्षअघि किनेको भिडियो एक्स–रे मेसिन आफूसँग रहेको बताउँदै उनले भने– ‘मैले यसको भाडा पनि लिन्न र यो मेरो विवेकले प्रयोग गरेको हुँ’ । दैनिक ५० देखि ६० जनाले अस्पतालमा एक्स–रे सेवा लिँदै आएका छन् ।

सरकारले महत्वका साथ ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको प्रथम बिन्दुको रुपमा रहेको अस्पतालमा डेढ महिनासम्म एक्स–रे सेवा नहुँदा बिरामीहरु अप्ठ्यारोमा परेका थिए । ‘हामीले बिग्रिएको एक्स–रे गर्ने मेसिन बनाउन पठाएका छौं र स्वास्थ्य बिभागमा नयाँ समेत माग गरेका छौं’ –स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले भने । आफै किन्न सक्ने अस्पतालसँग क्षमता नभएकाले यो अवस्था आएको पनि उनको भनाइ छ ।

विरामीहरुको चाप र अस्पतालमा सेवा लिने इच्छालाई नमार्नका लागि डा. देवान आफैले एक्स–रे मेसिन ल्याएर सेवा दिएर अस्पताललाई गुन लगाएको अर्यालले बताए । ‘उहाँले विरामीको मर्म बुझेर जुन काम गर्नुभयो यस्तो कमैले मात्र गर्छन्’ –अर्यालले भने । दमक अस्पतालमा यो सेवा शुरु गर्नका लागि विशेषज्ञहरु खोजी गर्दै कोही नआएको अवस्थामा देवानले यहाँ करिब दुई बर्षदेखि सेवा दिँदै आएका छन् ।

दैनिक तीनदेखि चारसय जनाले अस्पतालमा सेवा लिँदै आएको र यसमा एक्स–रे गर्ने विरामीको संख्या पनि उल्लेख्य हुने गरेको बताइएको छ । केही महिनायता अस्पतालमा बर्थिङ सेन्टर समेत स्थापना भएकाले भिडियो एक्स–रे सेवा नहुँदा झनै मुस्किल भएको अस्पतालले जनाएको छ । डा. आफैले १५ दिनअघिदेखि आफ्नो एक्स–रे मेसिन ल्याएपछि भने अहिले कुनै समस्या नभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *