September 16, 2026

मोरङमा बाढीका कारण २५० घर परिवार विस्थापित

0

विराटनगर ।

लगातारको वर्षाका कारण मोरङका विभिन्न स्थानमा गरी झण्डै २ सय ५० घर परिवार विस्थापित भएका छन्। बाढीको जोखिममा परेका विस्थापित परिवारलाई स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानमा राखेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख रमेशप्रसाद केसीका अनुसार विराटनगर–१ मा रहेको सिंघीया खोलाका कारण ५० घर परिवार, विराटनगर ८ हाटखोला दक्षिणी क्षेत्रमा १ सय घर, विराटनगर १६ दरैयाबस्तीमा ५० घर परिवार, जहदा ८, कटहरी गाउँपालिकाको ४ र ५ नम्बर वडामा ५०र५० घर परिवार विस्थापित भएका छन्। विस्थापितहरुलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको केसीले जानकारी दिए।

यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिंजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला पर्न सकेको छैन्। अन्दाजी २५/३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकलसहित बगाएको थियो। उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ। प्रमुख जिल्ला अधिकारी केसीले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको छ। प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षीत स्थानमा लैजान तयारी अवस्थामा रहेको पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *