September 15, 2026

वर्तमान र भुपुप्रधानमन्त्रीको कथात्मक दोहोरीः भ्यागुता भर्सेस निदुली

0

काठमाडौं।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले बिहीबार पार्टी मुख्यालय धुम्ब्राहीमा आयोजित एक कार्यक्रममा भ्यागुताको कथा सुनाए ।

तत्कालनी नयाँ शक्तिका नेताहरुलाई नेकपा भित्र्याउन आयोजित कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईको विद्वता केही पनि होइन भन्ने कुरा बुझाउन ओलीले भ्यागुताको कथाको साहारा लिएका हुन् ।

उनका अनुसार भ्यागुताकी छोरी एक दिन घुम्न जाँदा गाईको बाछो देखिछे । त्यसपछि उसले आफ्नी आमा भ्यागुतीलाई ठूलो जनावर देखेको बताईँ । आमाले आफ्नो भूँडि फुलाउँदै यति ठूलो, यति ठूलो, यति ठूलो? भन्दै प्रश्न गर्दागर्दै भ्यागुतीको भूँडि फुट्यो । ओलीको भ्यागुताको कथा सकियो ।

प्रधानमन्त्री ओलीको कथा सकिएपछि सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीको कथा शुरु भयो । पूर्व प्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई कथाकै शैलीमा जवाफ दिन निदुलीको कथा ट्वीटरमा पोस्ट गरेका छन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्, हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ । त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि? ’

भट्टराईका अनुसार निदुली बाहुनको कथा यस्तो छ ।

निदुली बाहुन साँझमा ससुराली पुगेछन्। सासू भित्र सेलरोटी पकाउँदै रहिछन्।ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् । पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् ।

ज्वाइँले भनेछन् ‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार?’ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।गाउँमा धोबीको गधा हराएको रहेछ। धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन् । अब पर्यो फ़साद । भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन्।

भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् । के खोज्छस् दृष्टिविहीन, आँखा । ज्वाइँ ससुराली घर फर्केर सुतेछन् । भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन् । अब के चाहियो? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ। राजाले दरबारमा बोलाएछन् र हराएका हीरा–जवाहरत पत्ता लगाउन भनेछन्। बस्न कोठा दिएछन् ।

अब पर्यो महाफसाद भागौं, पहरा छ । कोठामै बर्बराएछन्– ‘रोटी गनीगनी जैसी कहाएँ, धोबीको गधा उखुवारी पाएँ, अब आयो निदूली तेरै काल’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ । उसको नाउँ पनि निदूली रहेछ  । उसले रूँदै आएर भनिछ– ‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु।’

‘निदूली राजज्योतिषी बनेर धनधान्य भएछन । अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो ।’ –

Leave a Reply

Your email address will not be published. Required fields are marked *