June 19, 2026

शिक्षासेवी शर्माको स्मृतिग्रन्थ लोकार्पित

0

बिर्तामोड।

शिक्षासेवी दाताराम शर्माको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ शनिवार आयोजित एक समारोहकाबीच लोकार्पण गरिएको छ । ग्रन्थ प्रकाशन समितिका संयोजक एवम् गोमेन्द्र बहुमुखी कलेजका संस्थापक प्रिन्सिपल गणेशप्रसाद खनालको अध्यक्षतामा भएको समारोकाबीच स्मृतिग्रन्थको लोकार्पण गरिएको हो ।

स्मृति ग्रन्थको लोकार्पण प्रमुख अतिथि, नेपाली लेखक संघ झापाका अध्यक्ष गोपालकुमार बस्नेत, भाषासेवी चूडामणि रेग्मी, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र कार्यक्रमका अध्यक्ष खनालले संयुक्त रुपमा गरेका थिए ।
स्मृति ग्रन्थको लोकार्पण गर्दै प्रमुख अतिथि बस्नेतले शिक्षासेवी दाताराम शर्मा इमान्दारिता, कर्मनिष्ठता र समर्पणका पर्याय रहेको उल्लेख गर्दै ग्रन्थले शर्माको योगदान पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्दै समाजलाई सेवामा लाग्न प्रेरणा दिने बताए ।

कवि एवम् गजलकार केशव आचार्यले स्वागतसहित शर्माको जीवनीमाथि प्रकाश पारेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा दीप प्रज्ज्वलन र सामाजिक अभियन्ता तथा धार्मिक व्यक्तित्व प्रेमप्रकाश फलाहारीले स्वस्तिवाचन गरेर गरेका थिए । त्यस अवसरमा इन्दू पूर्वेली र प्राध्यापक तारा विविधले ग्रन्थको समीक्षा गरेका थिए ।
स्वर्गीय शर्माका छोराबुहारीहरु रवीन शर्मा र पुष्पा शर्मा प्रकाशक रहेको स्मृति ग्रन्थ लोकार्पण समारोहमा स्वर्गीय शर्माका जेठा छोरा प्रा.डा. उत्तमकुमार शर्मा, ज्वाँइ प्रा.डा. भीमप्रसाद सुबेदीले समेत मन्तव्य प्रकट गर्दै पिताको योगदानको अनुभूति आज मात्रै भएको बताएका थिए ।

कार्यक्रममा स्व. शर्माका सहकर्मी तथा संविधानसभा सदस्य शिवाकोटीले स्व. शर्मासँग बिताएका क्षणहरुको स्मरण गर्दै शिक्षा क्षेत्रमा उनको योगदान अनुकरणीय रहेको बताए । प्रधान सम्पादक विष्णुकुमार भट्टराईले ग्रन्थ प्रकाशनका विषयमा चर्चा गरेको कार्यक्रममा प्रकाशक रवीनले धन्यवाद ज्ञापन गरेका थिए ।

इलामको साँखेजुङमा जन्मिएका शर्माको कठोर संघर्ष, त्याग र सेवाको विविध पक्षलाई समेटिएको ग्रन्थले उनको संघर्षशील कथाहरुसँगै समाज रुपान्तरणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । बिर्तामोडस्थित अतिथिसदनमा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *