June 19, 2026

मेचीनगरमा पनि डेंगुको संक्रमण

0

मेचीनगर।

झापाको मेचीनगरमा २ जना डेंगु रोगी फेला परेका छन् । मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको हो ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेका बखत २२ वर्षीय छोरालाई डेंगु भएको र उनको हेरचाहमा पुगेकी ४९ वर्षीया आमामा समेत डेंगुको लक्षण देखिएको हो ।

पछिल्लो समय सुनसरीको धरानमा डेंगु प्रकोपको रूपमा देखिएको छ । यसअघि झापाको भद्रपुर, विर्तामोड, अर्जुनधारा लगायतका पालिकामा ७ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार उनीहरुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनका अनुसार पछिल्लो समय अहिलेसम्म मेचीनगरमा डेंगुका रोगी फेला परेका थिएनन् । झापामा पहिलो पटक सन् २०१२ मा काँकरभिट्टामा डेंगुका रोगी फेला परेका थिए ।

नगरमा डेंगु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु गरेको छ । आइतबार मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राई, सहसंयोजक रामनारायण यादव नेतृत्वको जनप्रतिनिधि, आमा समूह, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि सहितको टोलीले लार्भा खाजेर नष्ट गर्ने काम शुरु गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *