June 19, 2026

किसानलाई कृषियन्त्र वितरण

0

भद्रपुर।

हल गोरुसँगै काम गर्ने मजदुर पाउने छाडिएकोले कृषि क्षेत्रमा यान्त्रिकीकरण भित्र्याउने उद्देश्यले झापामा पहिलोपटक १ सय ५ जना कृषकलाई साना कृषि यन्त्र उपकरण वितरण गरिँदैछ ।

एक नम्बर प्रदेश सरकार अन्तरगत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयको सहयोगमा कृषि ज्ञान केन्द्र झापामार्फत १५ वटै स्थानीय तहका १०५ जना कृषकलाई एक करोड २१ लाख २० हजार मूल्य बराबरको कृषि यन्त्र उपकरण वितरण गर्न शुरु गरिएको हो ।

छनौटमा परेका कृषकलाई कृषि सामग्री खरिद वापत ५० देखि ७५ प्रतिशतसम्म रकम अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्रदेश सरकारले १४ वटा जिल्लामा पहिलोपटक यस्तो कार्यक्रमको शुरुवात गरेको हो ।

‘यसबर्ष प्रदेश १ मा ९ करोड बजेट विनियोजन भएकोमा झापामा एक करोड २१ लाख २० हजार रुपैयाँ आएको छ’–उनले भने– ‘रकम छुट्टिएपछि जिल्लाको १५ वटा पालिका मध्येबाट कृषि यन्त्र उपकरण खरिदका लागि ४ सय ६७ वटा निवदेन केन्द्रमा परेको र त्यसमध्येबाट १०५ जना कृषकलाई छनौट गरेका हौं ।’ कृषि यन्त्र उपकरण खरिदका लागि झापामा पाँच वटा स्थान तोकिएको छ ।

‘सोही ठाउँबाट कृषि यन्त्र उपकरण खरिद गरी लैजान केन्द्रले छनौटमा परेका कृषकलाई अनुदान रकमको सिफारिस पत्र दिन शुरु गरेको छ’– उनले भने । यस्तो प्रकारको कार्यक्रमले कृषक उत्साहित हुन्छन्– उनले भने –अहिले गाउँघरमा हल गोरु पाउन छाडिसकेको छ, काम गर्ने मान्छे भेटिँदैन, उब्जाउ बढाउन कृषकलाई यस्तै कार्यक्रम चाहिन्छ ।

केन्द्रका अनुसार नगरपालिकाहरु मध्ये अर्जुनधारामा १३, कनकाईमा ९, भद्रपुरमा ५, मेचीनगरमा ५, शिवसताक्षीमा ९, विर्तामोडमा ११, दमकमा ७, गौरादहमा १५ र गाउँपालिकाहरुमध्ये कचनकवलमा २, कमलमा ३, झापामा ७, गौरीगञ्जमा ४ वुद्घशान्तिमा ६ र हल्दिवारीमा ३ जना गरी १०५ जना कृषक छनौटमा परेका हुन् । छनौटमा परेका कृषकहरुले रिपर, पावर टेलर, रोटाभेटर, थ्रेसर, मकै छोडाउने मेशिन, व्रसकटर लगायतका कृषि यन्त्र अनुदानमा पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *