September 18, 2026

बाख्रा उपहार पाउँदा दंग

0

झापा।

बाख्रा उपहार पाएपछि झापाको साविक पाँचगाछी गाउँ विकास समिति हाल वडा नम्वर ५ का अति विपन्नवर्गका महिलाहरु खुशी भएका छन् ।

बिहान–बेलुकाको छाक टार्न समेत मुस्किल परेका आदिबासी जनजाति समुदायका अति विपन्न महिलालाई वडा समितिले घर–घरै गएर बाख्रा उपहार दिएपछि उनीहरु खुशी भएका हुन् ।

खोको टोलीकी पार्वती ताजपुरिया उमेरले ६६ वर्ष पुगेकी छन् । उनको बिहान–बेलुकाको छाक टार्ने मेलो कृषि मजदुरी नै हो । यो बाहेक उनीसँग आम्दानीको अन्य स्रोत भनेको सरकारले दिएको एकल महिला भत्ता नै हो ।

एकपटक थापेको भत्ताले चार महिनासम्म खाएको राशनको पैसा बुझाउन पुग्दैन । घरको चारवटा खाँवा अट्ने मात्र जग्गा भएकी पार्वतीले बाख्रा उपहार पाएपछि थप आम्दानीको स्रोत जुटेको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्– ‘अब त एउटा बाख्राले वर्षमा दुईपटक पाठापाठी दिन्छ, त्यसैलाई बेचेर जीवन सहज ढंगले जिउनेछु ।’

पार्वतीको जस्तै सालमाराकी शोभा राईको पनि गरिबीको पीडा उस्तै छ । उनको पनि नानी पढाउने खर्च नहुँदा गाउँमा मजदुरी गर्नुको विकल्प छैन । उमेरले ३३ मात्र टेकेकी शोभा गाउँमा मेहनती महिलाको रुपमा चिनिन्छिन् । श्रीमान् सँगसँगै खेतीमा काम गर्न जाने गरेकी उनी भन्छिन्– ‘गरिबीले नै अर्काको बारीमा काम गर्नुपरेको हो, अब बाख्रा पाएपछि यसैलाई हुर्काउने, बढाउने र आफ्नो अर्थोपार्जन गर्ने योजनामा छु । एकदिन मलाई पनि बाख्राको माउले धनी बनाउनेमा म आशावादी छु ।’

आफ्ना वडाका विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले वडाका २१ महिलालाई बाख्रा उपहार दिएको वडाध्यक्ष सत्यनारायण राजवंशीले बताए । वडाको सिलिङ्ग बजेटबाट आदिबासी जनजाति समुदायका महिलाको आय–आर्जनमा टेवा पुर्याउने उद्देश्यले वडाले बजेट विनियोजन गरेको थियो ।

वडाका सालमारा, खोकोटोली, आमबारीको सुकुम्बासी बस्ती र भेलामुनीका २१ महिलाले बाख्रा उपहार पाएका छन् । उनीहरुले जमुनापारिको क्रस र स्थानीय जातका बाख्रा उपहार पाएका हुन् । उपहार दिइएको बाख्राबाट महिलाको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाध्यक्ष राजवंशीले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गर्न अरुका लागि उदाहरणीय बन्ने बताए ।

बाख्रा हस्तान्तरण गर्दै वडाध्यक्ष राजवंशीले भने– ‘अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहोस् अर्को वर्ष नयाँ कार्यक्रमका साथ आउनेछौं ।’

आदीबासी जनजाति समुदायको उत्थानका लागि वडाले दुई लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ५० हजार सन्थाल समुदायको उत्थानका लागि खर्च भएको वडा समितिले जनाएको छ । आदीबासी जनजाति समुदाय वडा नम्बर ५की अध्यक्ष चानुवती राजवंशीले आफ्नो समुदायका विपन्न वर्गका महिला किसानलाई वडा कार्यपालिकाले बाख्रा उपहार दिएकोमा खुशी हुँदै भनिन्– ‘वडा नम्बर ५ बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *