June 16, 2026

हचुमासा वनको अतिक्रमण हटाइयो

0

अर्जुनधारा। झापाको अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको अतिक्रमित १० कठ्ठा वन क्षेत्र खाली गराई सीमाङ्कन गर्ने कार्य सम्पन्न भएको छ ।

समूहको स्वीकृत वन कार्ययोजना २०७५ अनुसार वन खण्ड ७‘क’ (साविक ब्लक नं. ५) अन्तर्गत रहेको उक्त क्षेत्र खाली गराई तारवारसहित वृक्षरोपण गर्न डिभिजन वन कार्यालय झापाले २०७५ भदौ २१ गते अतिक्रमण वन क्षेत्र खाली गर्न र असोज १० गते सचेत गराइएको समूहलाई परिपत्र गरेको थियो ।

स्थलगत छानविन पश्चात् तयार भएको प्रतिवेदन अनुसार ब्लक नं.५ अन्तर्गत विरीङ खोला पूर्व, आवादी पश्चिम, उत्तर हरिप्रसाद गौतमको आवादी र दक्षिण आवादी किल्ला भित्रको १० कठ्ठा वन क्षेत्र स्थानीय हरिप्रसाद गौतम र कुवेर गौतमसमेतले अतिक्रमण गरेको पुष्टि हुन आएकाले तत्काल उक्त अतिक्रमित वन क्षेत्र खाली गराई तारवार र वृक्षरोपण गर्न तथा दोषीलाई कार्वाहीको लागि पेश गर्न परिपत्रमार्फत् वन कार्यालयले समूहलाई निर्देशन दिएको थियो ।

परिपत्रमा उल्लेख भएको निर्देशन कार्यान्वयन तथा समूह र स्थानीय उपभोक्ताहरुको आवादी क्षेत्र बीचको सीमाना यकिन गर्न समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षतामा बसेको बैठकले गत जेठ १५ देखि सीमाङ्कनको कार्य शुरु गरेको थियो । समूहका पदाधिकारी, सदस्य, वन प्राविधिक र सीमानाका उपभोक्ताहरुको सहभागितामा बसेको बैठकले सीमाङ्कनको क्रममा वन प्राविधिकसहितको टोलीले जीपीएसको प्रयोग गर्ने निर्णय गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा उजुरी समेत परेको उक्त क्षेत्र खाली गराउन यस अघि समूहकोतर्फबाट पटक–पटक छलफलको प्रयास गरे पनि सम्भव नभएको समूहका उपाध्यक्ष सन्तबहादुर मगरले बताए । सीमाङ्कनको क्रममा डोजरको प्रयोग गरी वन क्षेत्रको दुवै भागमा नालीको ट्रयाक निर्माण गरेको र खाली क्षेत्रमा आगामी असार १५ गतेसम्ममा वृक्षरोपण गर्ने उपाध्यक्ष मगरले बताए ।

वृक्षरोपण गर्न अर्जुनधारा नगरपालिकाले एक हजार वटा बिरुवा र बाँकी आवश्यक बिरुवाहरु डिभिजन वन कार्यालय झापा र सबडिभिजन वन कार्यालय सुरुङ्गाले उपलब्ध गराउने समूहका कार्यालय सचिव श्रीप्रसाद नेपालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *