September 16, 2026

सगरमाथामा पनि घण्टौँ जाम !

0

       झापा, नेपालमा ट्राफिक जामको समस्या कति छ भन्ने बुझ्नु प¥यो भने अफिस आवरमा राजधानी…

झापा, नेपालमा ट्राफिक जामको समस्या कति छ भन्ने बुझ्नु प¥यो भने अफिस आवरमा राजधानी काठमाडौं र देशका अन्य महानगरमा सडकमा निस्किए पुग्छ । अफिस पुग्ने र अफिसबाट फर्कने बेला देशका मुख्य शहरहरुमा बाटो काट्नै मुश्किल हुने गरी ट्राफिक जाम हुने गर्छ ।
नेपालमा विकराल बन्दै गएको जामको समस्या अब सडकमा मात्रै सिमित रहेन । यसले तराई, पहाडहुँदै हिमालसम्मको यात्रा गरिसकेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा समेत घण्टौँसम्म जाम हुन थालेको छ । सगरमाथा आरोहणमा जानेहरुको संख्या एकै दिन धेरै भएपछि चौथो क्याम्पदेखि माथि चुचुरोमा पुग्ने बेलामा आवतजावत गर्नेहरुको जाम देखा परेको हो ।
सगरमाथा आधार शिविरमा सरकारी टोलीका एक सदस्य तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ७ जेठसम्म करीव ६ सय आरोही चुचुरोसम्म जान उपयुक्त मौसमको पर्खाइमा थिए । ७ जेठको बिहानबाट मौसम अनुकुल भयो । आरोहण खुल्यो । त्यसको भोलिपल्ट जेठ ८ गते सगरमाथामा यस सिजनकै सर्वाधिक दुई सय जनाले सगरमाथाको चुचुरोमा पुगेको अनुमान छ । यसअघि २०७३ साल जेठ ३ गते एकै दिन सर्वाधिक २ सय ५ आरोही चुचुरोमा पुगेको कीर्तिमान छ ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पाकाअनुसार सगरमाथामा पैसा तिरेर अरुको सहायतामा आरोहण गरिन्छ । यो व्यापारिक आरोहण हो । त्यसकारण यहाँ कुनै पनि प्रकारको जोखिम मोलेर कसैले पनि आरोहण गर्दैनन् । किनकी त्यहाँ प्रोफेसनल आरोहीभन्दा कीर्तिमानका लागि आउने आरोही धेरै हुन्छन् । प्रतिकूल मौसम हुनासाथ आरोहीलाई क्याम्प मै राखिन्छ । जब मौसम खुल्यो भन्ने जानकारी आउँछ, त्यसपछि एकसाथ सबै आरोही अगाडी बढ्छन् । जसले गर्दा बाटोमा आरोहीको लामो जाम हुन जान्छ ।

सगरमाथा आरोहणमा किन भयो जाम !

सामान्यतया आरोहण गर्दा आफैं बाटो बनाउने, रुट खोज्ने र चढ्ने गरिन्छ । यसलाई वास्तविक शाहसिक आरोहण मानिन्छ । सगरमाथामा यसरी आरोहण गर्ने अनुमति छैन । रुट बनाउने कम्पनीलाई सरकारले अनुमति दिन्छ । उसले जुन रुट बनायो, सबै आरोहीले त्यसलाई पच्छ्याउनै पर्छ ।
एउटै रुटबाट धेरै आरोही उकालो लाग्दा ट्राफिक जाम देखिने गरेको पूर्वअध्यक्ष शेर्पा बताउँछन् । ‘अरु हिमालमा आरोहीले आफ्नो रुट आफै बनाउँदै चढ्न सक्छन् तर, सगरमाथामा त्यसको अनुमति छैन,’ उनी भन्छन्, ‘त्यसकारण मौसम खुलेका बेला एउटा मात्र बाटोबाट धेरै आरोही उकालो लाग्दा जाम देखिनु सामान्य हो ।’
जारी सिजनमा शुक्रबारसम्म झण्डै ४ सय ५० आरोही चुचुरो पुगिसकेको अनुमान पर्यटन विभागको छ । शुक्रबारपछि भने मौसम ग्रिएकाले केही दिन आरोहण बन्द हुने आधार शिविरबाट सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । यसवर्ष ४४ समूहका ३ सय ८१ आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन् । उनीहरुका साथमा शेर्पा र सहयोगी आरोही पनि चुचुरो पुग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *