September 17, 2026

ज्येष्ठ नागरिकलाई उपेक्षा गरेको गुनासो

0

      भद्रपुर। कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकहरुलाई उपेक्षा गरेको त्यहाँका ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।…

भद्रपुर।

कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकहरुलाई उपेक्षा गरेको त्यहाँका ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।

ज्येष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने मूल नाराका साथ ज्येष्ठ नागरिक गाउँपालिका संघ कचनकवल बनियानीद्वारा आयोजित अन्तर पुस्ता सम्बन्ध तथा ज्येष्ठ नागरिक अन्तरक्रिया कार्यक्रमका सहभागी ज्येष्ठ नागरिकहरुले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा संघका सचिव कमलप्रसाद खतिवडाले ज्येष्ठ नागरिकको हक अधिकारलाई जनप्रतिनिधिहरुले कुण्ठित पारेको बताउँदै ज्येष्ठ नागरिकलाई अन्य नागरिक सरह गरिने व्यवहारमा समेत पूर्वाग्राही रहेको आरोप लगाए । सरकारी सेवा लिन गएका ज्येष्ठ नागरिकलाई जनप्रतिनिधिहरुले बिना कारण झमेला र भन्झट देखाउँदै दुःख दिने गरेको उनको भनाई छ ।

त्यसैगरी अर्का ज्येष्ठ नागरिक कालेन्द्र राजवंशीले ज्येष्ठ नागरिकका कुरा सुन्नुपर्छ भनेर ज्येष्ठ नागरिकद्वारा आयोजित कुनै पनि कार्यक्रममा जनप्रतिनिधिहरुको उपस्थित न्युन रहेको गुनासो पोखे । ज्येष्ठ नागरिकलाई सभ्य नागरिकको रुपमा जनप्रतिनिधिहरुले देख्न नचाहेको समेत उनको आरोप छ ।

ज्येष्ठ नागरिक संघ कचनकवलका अध्यक्ष टीकादत्त अकेला (दाहाल)को अध्यक्षता तथा कचनकवल गाँउपालिकाका अध्यक्ष अन्जार आलमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा लक्ष्मी मावि व्यवस्थापन समितिका अध्यक्ष तुलाराम अधिकारी, शिक्षक मित्र खनाल, ज्येष्ठ नागरिक केदार ढकाल लगायतले ज्येष्ठ नागरिकको भावनालाई नयाँ पुस्ताले समेटेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

कचनकवलमा रहेका छ वटा विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययनरत् छात्रछात्राहरुलाई ज्येष्ठ नागरिकको अर्थ, कस्तो व्यवहार गर्नुपर्छ, संस्कारका बारेमा बौद्धिकता तथा कला क्षमताका बारेमा संघका केन्द्रीय सदस्य डिल्लीराम नेपालले प्रशिक्षण प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *