September 18, 2026

दमकमा भुटानी शरणार्थी संग्रहालय बनाइने

0

      दमक। अढाइ दशकभन्दा लामो समयदेखि झापा दमकको भुटानी शरणार्थी शिविर बेलडाँगीमा बसेका भुटानी शरणार्थीहरुको अवस्थालाई…

दमक।

अढाइ दशकभन्दा लामो समयदेखि झापा दमकको भुटानी शरणार्थी शिविर बेलडाँगीमा बसेका भुटानी शरणार्थीहरुको अवस्थालाई सधै जिवित राख्नका लागि दमक नगरपालिकाले भुटानी शरणार्थी संग्रहालय बनाउने भएको छ ।

दमकमा वडा नं. २ र ३ मा पर्ने हम्सेदुम्से सामुदायिक वनमा बसेका शरणार्थीहरुमध्ये एक लाखभन्दा बढी अमेरिकासहित तेस्रो देश पुनर्बास भएका छन् । शिबिर खाली हुन लागि सकेको अवस्थामा उनीहरुको रहनसहनदेखि लिएर जीवनशैलीलाई झल्काउने किसिमको संग्रहालय निर्माणको प्रस्ताव संघीय सरकार र प्रदेश सरकारलाई दमक नगरपालिकाले गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार प्रदेश सरकारले चालू आर्थिक बर्षमा २० लाख बजेट समेत छुट्याएकाले तत्काल काम शुरु गर्नका लागि स्थान छनौटमा केही समस्या देखिएको छ ।

वडा नं. २ र ३ ले आफ्नोमा हुनुपर्ने दाबी अघि सारेपछि वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा स्थान छनौट गरी सिफारिस गर्न समिति बनाइएको उनले जानकारी दिए ।

भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति, युएनएचसीआर, शरणार्थी समन्वय इकाइ, हम्सेदुम्से सामुदायिक वन तथा सरोकारवाला निकायहरुसँग समन्वय गरेर एक साताभित्रमा स्थान पहिचान गरेर काम तत्कालै शुरु गरिने नगरपालिकाले जनाएको छ । ‘यसै महिनाभित्रमा संग्रहालयको काम शुरु गर्ने तयारीमा रहेका छौं’ –तिम्सिनाले भने ।

यहाँ बर्षौं बसेर अहिले विश्वका सुविधासम्पन्न मुलुक पुगेका शरणार्थीहरु पछि नेपाल घुम्न आउँदा उनीहरुले यसलाई चासोपूर्वक हेर्न सक्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षणको केन्द्र बनाउन सकिने भएकाले संग्रहालयको अवधारणा ल्याइएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

आफूहरुले बर्षौंसम्म मित्रवत् व्यवहार गरेर यहाँ शरण दिएको र यो इतिहास हुने भएकाले यहाँको संस्कृति एवम् रहनसहनलाई समेटेर संग्रहालय बनाउन खोजिएको पनि उनले जनाए । ‘स्थानको बिषयमा ठूलो विवाद हुँदैन । यसर्थ, तत्कालै यसको विस्तृत परियोजना विवरण बनाएर काम शुरु गर्छौं’ –ओलीले भने ।

शरणार्थीको क्षेत्रमा कार्यरत् संघ–संस्थादेखि लिएर तेश्रो देश पुनर्बास भएर गएका शरणार्थीहरुले समेत यसमा सहयोग गर्न सक्ने अपेक्षा रहेको नगरपालिकाले जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *