September 16, 2026

हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

0

       भद्रपुर।  झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री…

भद्रपुर।

 झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ ।

नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा अग्निप्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात मात्र नगरपालिकाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनेछ । आगलागीबाट ठूलो नोक्सानी हुन नदिन पूर्व सावधानीका लागि नगरपालिकाले गरेको निर्णय नगरवासीको हितका लागि भएको हुँदा यसको कडाइका साथ लागू हुनुपर्ने अर्जुनधारा–११ का पुण्यप्रसाद खरेल बताउनुहुन्छ ।

नगरपालिकामा १४ हजार भन्दा बढी परिवारको बसोवास रहेको छ । नगरपालिकाले आज घरधनीलाई सार्वजनिक सूचना गरी अग्निप्रतिरोधात्मक सामग्री अनिवार्य राख्न अनुरोध समेत गरेको छ ।

झापाका १५ स्थानीय तहमध्ये अग्निप्रतिरोधी सामग्री अनिवार्य गर्ने अर्जुनधारा पहिलो नगरपालिका हो । यस नगरपालिकामा वारुणयन्त्र छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *