September 16, 2026

१५१ देशसँग व्यापार, २३ मा नाफा

0

       काठमाडौँ।   नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको…

काठमाडौँ।  

नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा रहेको छ । व्यापार नाफामा रहेका मुलुकको कारोवार भने असाध्यै न्यून छ । नाम मात्रैको व्यापार ती देशसँग भएको विवरणमा उल्लेख छ ।

छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी रहेको छ । भारतबाट रु छ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ । नेपालबाट रु ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ ।

निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ । भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग रु छ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा रहेको छ ।

यस्तै उत्तरी छिमेकी देश चीनबाट रु एक खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख मूल्य बराबरको सामान आयात हुँदा रु एक अर्ब ५२ करोड ३२ लाख ६१ हजार मूल्य बराबरका सामान मात्र निर्यात भएको छ । चीनसँग नेपालको व्यापार घाटा रु एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ ।

नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ । सो देशसँग रु २६ अर्ब ७० करोड चार लाख ६२ हजार बराबरको व्यापार घाटा छ । सो देशबाट रु २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामान आयात हुँदा रु ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकासी भएको छ ।

नेपालको व्यापार घाटा रहेको देशमा फ्रान्ससमेत रहेको छ । फ्रान्ससँग रु १६ अर्ब ४० करोड ११ लाख ४७ हजार बराबरको व्यापार घाटा रहेको छ । फ्रान्सबाट रु १७ अर्ब ३६ करोड ७९ लाख ७४ हजार बराबरको सामान आयात गर्दा रु ९६ करोड ६८ लाख बराबरको मात्रै सामान निकासी भएको छ ।

इण्डोनेसिया, थाइल्याण्ड, क्यानाडा, मलेसिया, स्विटजरल्याण्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेनलगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको विवरणमा उल्लेख छ ।

नेपालको कूल व्यापार हुने मुलुकमध्ये बहामासमा रु आठ लाख ६९ हजार, यमन रु एक करोड ८२ लाख ८७ हजार, अल्जेरिया रु छ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा रु दुई लाख ७८ हजार, न्यू क्यालेडोनिया रु एक करोड ६६ लाख ६१ हजार, गुयना रु २८ लाख ५१ हजार, अजरबैजान रु १८ लाख ८४ हजार र पानामा रु २३ लाख १६ हजार बराबरको सामान निर्यात भई नाफामा रहेको पाइएको छ ।

चालू आवको नौ महीनामा रु १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजार बराबरको आयात भएको छ । यस्तै सोही अवधिमा रु ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै सामान निर्यात भएको छ । व्यापार घाटा मात्रै रु नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार बराबरको रहेको छ ।

विभागका अनुसार कूल ४६ मुलुकमा भने कुनै पनि मालवस्तु निर्यात हुन सकेका छैनन् । सार्क मुलुकमध्ये पाकिस्तानसँग पनि रु ४५ करोड १४ लाख ४६ हजार बराबरको व्यापार घाटा छ भने भूटानसँग रु एक अर्ब पाँच करोड ६० लाख ५५ हजार बराबरको घाटा रहेको छ । श्रीलङ्कासँग रु २१ करोड ७२ लाख ६८ हजार व्यापार घाटा रहँदा अफगानिस्तानसँग भने रु एक करोड ४७ लाख ८४ हजार बराबरको नाफामा रहेको छ ।

यस्तै बङ्गलादेशसँग रु दुई अर्ब ४६ करोड सात लाख ५८ हजार बराबरको व्यापार घाटा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *