September 16, 2026

मिडिया विधेयक र पत्रकारिता जगत

0

       संविधान प्रदत्त प्रेस स्वतन्त्रता कुण्ठित हुनेगरी सरकारले ल्याएको मिडिया काउन्सिल लगायतका आमसञ्चार सम्बन्धी विधेयकका…

संविधान प्रदत्त प्रेस स्वतन्त्रता कुण्ठित हुनेगरी सरकारले ल्याएको मिडिया काउन्सिल लगायतका आमसञ्चार सम्बन्धी विधेयकका विरुद्ध पत्रकारहरु आन्दोलित भएका छन् ।

पत्रकारहरु आन्दोलनका क्रममा ज्ञापनपत्र बुझाउने, धर्ना दिनेदेखि विरोध प्रदर्शन, कालो पट्टी बाँधेर काम गर्नेसम्मका प्रतिकात्मक विरोध गरिरहेका छन् । प्रेस स्वतन्त्रता लोकतन्त्रको सौन्दर्य रहेको भन्दै कतिपय राष्ट्रिय संगठनहरु पनि सरकारविरुद्ध गोलबद्ध भइरहेका छन् । यसले देशलाई फेरि पनि दुर्घटनामा लैजाने जोखिम बढेर गएको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको विधेयकले आम नागरिकको सुसूचित हुन पाउने अधिकार र अभिव्यक्तिको स्वतन्त्र समेत हनन् हुने भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायत सञ्चार सम्वद्ध संस्थाहरुले सभामुख राष्ट्रिय सभाका अध्यक्षहरुको ध्यानाकर्षण गराइसकेको छ ।

पत्रकारहरु आन्दोलकै क्रममा बुधबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा कार्यरत हरे । यसैबीच प्रेस काउन्सिलका पदाधिकारीले समेत सरकारले स्वायत्त रहनुपर्ने संस्थालाई ‘नियन्त्रित’ र ‘निर्देशित’ बनाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पत्रकारहरुको विरोध, दवाब र आन्दोलनपछि मानवअधिकार आमसञ्चार, कानूनका विज्ञहरुले पनि संसदमा विचाराधीन विधेयकले प्रेस र अभिव्यक्ति स्वतन्त्रता माथि गम्भीर आघात पु¥याउन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।

संविधानको प्रस्तावमै प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा सरकारले ल्याउन लागेको मिडिया विधेयकको सम्वद्ध सबै पक्षबाट आलोचना र विरोधको स्वर आएका छन् ।

प्रेससँग सम्बन्धित संस्था, निकाय र सरोकारवालाहरुसँग छलफल र विमर्श नगरी ल्याइएको विधेयक बहुमतकै नाममा पारित गरिए त्यसले दिने परिणाम पश्चगामी हुनेप्रति विचारकहरुले चिन्ता प्रकट गरिहेका छन् । सभामुख समेतले प्रस्तुत विेधेयकको पक्षमा आफू नरहेको बताइसकेका छन् भने नागरिक समाज केही राजनीतिक दल तथा विश्लेषकहरुले पनि यसले लोकतन्त्रको उपहास गर्ने बताएका छन् ।

सरकार पेलेरै जाने ‘मुड’मा रहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्रीका सम्भाषणबाट प्रकट भइरहेकै छ । सरकारको नीति तथा कार्यक्रममाथि व्यापक छलफल नभई ‘हुन्छ–हुँदैन’ मै पारित गरिएको दृष्टान्तले पनि सरकारद्वारा प्रस्तुत मिडिया विधेयकले कानूनी रुप पाउने सम्भावना प्रबल छ ।

सत्तारुढ दल बहुमतमा छ । प्रतिपक्ष बहुमतको अङ्कगणितीय घनचक्करमा हराएको छ । सरकार आलोचना र प्रतिवाद हेर्न र सुन्न तयार छैन । ‘रातो’लाई उसको आँखा अनुसार ‘सेतो’ भन्नैपर्ने बाध्यतामा छन् सत्तारुढ दलका इमान र स्वाभिमान भएकाहरु नेपाली प्रेस जगत भर्खरै वामे सर्दैछ ।

यही समय देश भ्रष्टाचार र दुराचारको पोखरीमा डुब्दैछ । सरकारलाई समेत मार्गदर्शन गर्नुपर्ने, खबरदारी गर्ने स्वतन्त्र अङ्गलाई भजन र प्रशस्तीमा अल्झाएर भइरहेका विसंगतिहरुलाई ढाकछोप गर्न खोजियो भने नेपाली जनताको अहिलेसम्मको बलिदान खेर जानेछ ।

त्यसकारण पनि बाइडबडी, सुन, चिनी, बालुवाटार, पशुपतिनाथ लगायतका काण्डहरुलाई सार्वजनिक गर्ने र दोषीलाई दण्डित गर्दै राष्ट्र, राष्ट्रियता, स्वाधीन र स्वाभिमानसहितको सार्वभौम जनताको अस्तित्व रक्षाका लागि सबैले सचेतनापूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *