September 17, 2026

उपभोक्ता स्वास्थ्य र सचेतना

0

       खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा बिर्तामोडमा भएको भेलामा विषयविज्ञ लगायतका वक्ताले खाद्यवस्तुको…

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा बिर्तामोडमा भएको भेलामा विषयविज्ञ लगायतका वक्ताले खाद्यवस्तुको स्वच्छताका बारेमा सचेतना आवश्यक रहेको बताएका छन् । रोगका विभिन्न माध्यमहरुमध्ये खाना प्रमुख रहेकाले यसको स्वच्छताले कतिपय रोगबाट बच्न सकिन्छ ।

त्यसका लागि उपभोक्ता सजग हुनुपर्दछ र खाद्यवस्तुको गुणस्तरका सम्बन्धमा सचेतता अपनाउनै पर्छ । ‘फास्ड फुड’ को प्रचलन बढ्दै जाँदा नेपालीको भान्सामा परम्परागत खाद्य परिकार विस्थापित भइरहेको छ । देखासिकीमा आएको यस्तो प्रचलनले हाम्रा भान्सा ‘रोगका घर’ बन्दैछन् ।

भान्सा मै औषधालय थियो कुनै समय । तर आज खासगरी शहरी जीवन परम्परागत सामाजिक जीवनशैलीबाट अलग हुँदै आधुनिकतातर्फ प्रवेश गर्दैछ । रोगको घर भनिने खाद्यवस्तुको गुणस्तर, उपयोगिता र शुद्धताका बारेमा सचेत नहुँदा मानव स्वास्थ्यमा प्रतिकूलता थपिँदैछ । त्यहीकारण हुनसक्छ सरकार सम्बद्ध निकायसँगै उपभोक्ता स्वास्थ्यसँग आवद्ध स्वयम्सेवी संस्थाहरुले यदाकदा बजारको अनुगमन र नियमन गर्ने गरेको छ । तर, त्यस्तो अनुगमनले सेवा प्रदायक संस्थाहरुको पद्धतिमा परिवर्तन नै आएको अनुभूति हुनु पाएको छैन ।

बजारमा उपलब्ध खाद्य वस्तुहरु चाहे त्यो खाद्यान्न होस् वा दाल, तेल अथवा मरमसला, दूध होस् वा दूग्धजन्य वस्तु अथवा पानी सबै मिसावटयुक्त छन् । त्यस्तै फलफूल, सागसब्जीदेखि उपभोग गर्ने सबै वस्तुमा विषादिको अत्यधिक प्रयोगले मानवस्वास्थ्य कमजोर हुँदैछ । यस्तोमा गुणस्तर नियन्त्रण गर्ने जिम्मेवार निकायले नियमन र अनुगमनसँगै सचेतना विस्तारको कामलाई पनि अभियानकै रुपमा चलाउन जरुरी छ ।

व्यक्ति लाभका निम्ति शहर बजारका होटल, रेष्टुरेन्टहरुका भान्सामा के–कस्ता परिकार पाक्दैछन् ? कस्ता वस्तुको प्रयोग गरिँदैछ ? तेल, मसला वा खाद्यवस्तुकै गुणस्तर कस्तो छ ? नित्य अनुगमन नगरिने हो भने मानव शरीर रोगको घर बन्ने निश्चित छ ।

सरकारले खाद्यवस्तुको गुण परीक्षण गर्न प्रयोगशाला पनि खोल्न थालेको छ । तर, तिनले बजार र उपभोक्ताको आवश्यकतालाई पूरा गरेको छ–छैन भनेर मूल्यांकन र समीक्षा भएकै छैन । बजारमा पाइने खाद्य तेलले मानवस्वास्थ्यमा पार्ने असर वा प्रभावको परीक्षण भएकै छैन । व्यक्तिलाभका निम्ति र असावधानीवस गरिने कर्मले अन्ततः हामी सबैलाई क्षति पु¥याउँद भने कसैले विर्सनु हुँदैन । त्यसैले परम्परागत जीवनशैलीलाई नै निरन्तरता दिएर सर्वोच्च धन भनिएको स्वास्थ्य रक्षाका लागि सबैको सचेतना आवश्यक छ आजको सन्दर्भमा ।

यसतर्फ उत्पादक, उपभोक्ता, विक्रेतासँगै सरोकार राख्ने सबै निकाय, खासगरी स्थानीय सरकार र जनप्रतिनिधिहरुले गम्भीर हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *