September 17, 2026

कर असुल रोक्न प्लाइउड व्यवसायीको माग

0

       बिर्तामोड। प्लाइडको कच्चा पर्दाथमा सरकारले वन पैदावर शीर्षकमा अझै पनि कर असुल गरिरहेको भन्दै…

बिर्तामोड।

प्लाइडको कच्चा पर्दाथमा सरकारले वन पैदावर शीर्षकमा अझै पनि कर असुल गरिरहेको भन्दै त्यसलाई रोक्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन् ।

आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वका उद्योगी व्यवसायीले यस्तो माग गरेका हुन् । ‘सरकारले कृषिजन्य वस्तुका रुपमा कच्चा पदार्थलाई राख्नुपर्नेमा वन पैदावर शीर्षक राखेर किसानबाट अहिले पनि १३ प्रतिशत भ्याट असुल गर्छ’ –नेपाल भेनियर उत्पादक संघका महासचिव दिनेश शाक्यले भने– ‘कृषकले वारीको उतीस बिक्री गर्दा पनि १३ प्रतिशत कर तिर्नु पर्छ ।’

कार्यक्रममा पूर्वाञ्चल प्लाईउड उद्योग संघका अध्यक्ष दीपेन्द्र पोखरेलले देशको ठूलो धनराशी नेपालमा सञ्चालित प्लाई उड उद्योग र भेनियर व्यवसायीले रोकिरहँदा पनि राज्यले आफूहरुलाई आत्म निर्भरता तर्फ उन्मुखता गराउन नसकेको आरोप लगाए । उनले नेपाललाई प्लाईउडमा आत्मनिर्भर घोषणा गर्न माग गर्दै भारत लगायत तेस्रो मुलुकबाट भित्रने यस्ता सामग्री आयातमा कडाई गर्नुपर्ने बताए ।

आन्तरिक उद्योगलाई बढावा दिन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नु पर्ने बताउँदै उनले नेपाली उद्योगी व्यवसायीले भारत र चीनसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था रहेको , यस्तो अवस्थामा हामी आम उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नेखालका कार्यक्रम ल्याउनुपर्ने बताए ।

झापा उद्योग संघका महासचिव दुर्गाप्रसाद भण्डारीले नेपालमा उत्पादित वस्तुलाई सरकराले प्रोत्साहन गर्नुपर्ने र व्यवसायीको हकहितका क्षेत्रमा राज्यले काम गर्नुपर्ने माग गरे ।

आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कर अधिकृत वोलराज आचार्यले करका विषयमा जानकारी गराएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले उद्योगी व्यवसायी राज्यलाई कर तिर्न तत्पर रहेको बताउँदै करका विषयमा उद्योगी व्यवसायीलाई अझ वढी कर शिक्षा जरुरी रहेको बताए ।

कार्यक्रममा झापासहित इलाम पाँचथरका ४० जनाभन्दा बढी उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय वन पैदावर संघ इलामका अध्यक्षका रोहित खड्काले वन पैदावरका समस्या राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *