September 18, 2026

सरकार राष्ट्रपतिको कि जनताको ?

0

      राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत बैशाख २१ गते संघीय संसदमा सम्बोधनका क्रममा व्यक्त गरिएको ‘मेरो सरकार’…

ओम आचार्य

राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत बैशाख २१ गते संघीय संसदमा सम्बोधनका क्रममा व्यक्त गरिएको ‘मेरो सरकार’ को अहिले सर्वत्र विरोध गरिएको छ । तर, प्रधानमन्त्री केपी ओलीले ‘मेरो सरकार’ को प्रतिरक्षा गर्दै भन्नुभएको छ– ‘अन्तर्राष्ट्रिय प्रचलन हो मेरो सरकार भन्ने सम्बोधन ।’ नेपालमा राष्ट्रपति कुनै दलसँग आवद्ध हुनुहँुदैन ।

राष्ट्रपति बन्नुभन्दा पूर्व कुनै दलसँग आवद्ध भए पनि राष्ट्रपति भएपछि त्यो पार्टीमा राष्ट्रपति पदकोे आवद्धता रहन मिल्दैन । राष्ट्रपति अर्थात् त्यो संस्था विवादरहित हुनुपर्छ र सबैको आस्थाको केन्द्र भइरहनुपर्छ । यी दुई कुरा बचाउन राष्ट्रपति गम्भीर र सचेत रहनुपर्छ । यही कुरामा अहिले संस्था चुकेको देखिन्छ ।

अहिले नेपालमा दुई तिहाइको कम्युनिस्ट सरकार छ र यो सरकार निर्माण भएदेखि अधिनायकवाद र सर्वसत्तावादको आरोप लागिरहेको छ । राष्ट्रपतिबाट समेत यो दुई तिहाइ कम्युनिस्ट सरकारलाई ‘मेरो सरकार’ को सम्बोधनले अधिनायकवाद र सर्वसत्तावादको अर्को खुडकिलो टेकेको भन्ने संकेतको रुपमा अन्य राजनीतिक दल र राजनीतिक विश्लेषकहरुले लिएका छन् ।

अहिले राष्ट्रपतिको ‘मेरो सरकार’ को सम्बोधनले मानिसहरु र राजनीतिज्ञहरुले पूर्व राजशाहीको पालामा राजाहरुबाट भएको सम्बोधनलाई सम्झेका छन् । राजशाहीको पालामा राजाले नै प्रधानमन्त्री नियुक्त गर्थे र बर्खास्त गर्थे । प्रतिनिधि सभा नाम मात्रैको रहन्थ्यो मन्त्रिमण्डल कै सम्पूर्ण कमाण्ड राजामा रहन्थ्यो त्यो परिस्थितिमा राजाले मेरो सरकार भन्नु अन्यथा थिएन ।

यही कुराको जनतामा र राजनीतिक क्षेत्रमा राष्ट्रपतिबाट भएको ‘मेरो सरकार’ शब्दप्रति शंका उत्पन्न भएको हो । राष्ट्रपति पूर्व राजाको जस्तो अवस्थामा छैनन् र त्यस्तो एकाधिकार पनि राष्ट्रपतिमा निहित छैन । परन्तु यही सम्बोधन प्रधानमन्त्रीबाट आउँदा स्वभाविक र सहजरुपमा लिन सकिन्थ्यो । राजशाहीको अन्त्य र गणतन्त्रपछि प्रधानमन्त्रीबाट यस्तो सम्बोधन आउँदा नेपाली जनताले सहजरुपमा अनुभव गर्दथे ।

अर्को कुरा नेपालमा सरकार परिवर्तन भइरहन्छ, कहिले कांग्रेसको नेतृत्वमा, कहिले माओवादीको नेतृत्वमा कहिले नेकपा एमाले त अहिले नेकपाको नेतृत्वमा छ । राष्ट्रपतिको कुनै सरकार हँुदैन राष्ट्रपति सरकार विशेषमा जोडिनु हँुदैन, राष्ट्रपति सरकारको अंग मानिए पनि सरकारभन्दा माथि हुन्छ, तर सरकार हुँदैन । यो भन्दा पूर्वका राष्ट्रपतिबाट यसरी सम्बोधन आएको थिएन यस्तो लोभ यस्तो मोह पूर्वका राष्ट्रपतिले राखेनन् ।

भारतको उदाहरण पनि दिन थालिएको छ । तर, भारतमा ब्रिटिस शासनविरुद्ध स्वतन्त्र भारतको आन्दोलनबाट स्थापित गणतन्त्रमा यसरी सम्बोधन आउँदा त्यहाँका जनताले आफ्नै सरकारमा भएको जस्तो गौरव महशुस गर्थे । त्यहाँको गणतन्त्रको आगमन पृष्ठभूमि र नेपालको गणतन्त्र आगमनको पृष्ठभूमि फÞरक थियो । यसैकारण राष्ट्रपतिबाट आएको त्यो ‘मेरो सरकार’ को सम्बोधन नेपाली जनताले रुचाएनन् ।

नेपालमा राजशाहीको अधिनायकवाद र सर्वसत्तावाद कै पथमा नेकपा अग्रसर रहेको दोष लागिरहेकै अवस्थामा राष्ट्रपति भण्डारीबाट सरकारकै नेतृत्वशैलीमा ‘मेरो सरकार’ को सम्बोधन आउनु निश्चय नै राम्रो मान्न सकिँदैन । राष्ट्रपति जस्तो गरिमामय संस्थाबाट यसरी सम्बोधन आउनु आश्चर्य मानिएको छ ।

आश्चर्य यस अर्थमा कि यो भन्दा पूर्व पनि राष्ट्रपति भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । त्यति खेर आफ्नो प्रस्तुतिमा अहिलेको जस्तो ‘मेरो सरकार’ को सम्बोधन भएको थिएन, तर अहिले यसरी सम्बोधन आउनुलाई एक दलीय कम्युनिस्ट सरकारको अवधारणाको रुपमा हेरिन थालिएको छ, जुन गम्भीर विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *