September 14, 2026

भदौ २३ र २४ का सहिदको सम्झनामा दमकमा जेन–जी युवाद्वारा दीप प्रज्वलन

0

झापा । भदौ २३ र २४ गते भएका घटनामा ज्यान गुमाएका जेन–जी युवा, नेपाल प्रहरी तथा सर्वसाधारणको सम्झनामा झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत दमक र गौरादहमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।

दमक र गौरादहमा जेन–जी युवाहरूको आयोजनामा साँझ दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

आयोजकका अनुसार उक्त घटनाले समाजमा गहिरो असर पारेको र युवापुस्ताले शान्ति, सहअस्तित्व र लोकतान्त्रिक मूल्यको रक्षा गर्न सचेत रहनुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। दीप प्रज्वलनमार्फत हिंसा, द्वन्द्व र अराजकताबाट समाजलाई टाढा राख्दै संवाद र समझदारीको बाटो रोज्नुपर्ने सन्देश दिन खोजिएको उनीहरूले बताए।

कार्यक्रममा सहभागी युवाहरूले सहिदहरूको बलिदानलाई स्मरण गर्दै राज्य र समाजले त्यस्ता घटनाबाट पाठ सिक्नुपर्नेमा जोड दिए। उनीहरूले निर्दोष सर्वसाधारण, सुरक्षाकर्मी र युवाको ज्यान जाने अवस्थाको पुनरावृत्ति नहोस् भन्ने कामना समेत व्यक्त गरे।

दीप प्रज्वलन कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू, स्थानीय बासिन्दा तथा अभियन्ताको सहभागिता रहेको थियो। शान्तिपूर्ण रूपमा सम्पन्न कार्यक्रमले दमकमा सामाजिक सद्भाव र सहिष्णुताको सन्देश दिएको सहभागीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *