September 15, 2026

वराह क्षेत्रमा उज्यालोको महासंकल्प : एक सय करोड दीप प्रज्ज्वलन गरिँदै

0

सुरेन्द्र भण्डारी
झापा, सुनसरीको वराह क्षेत्र जहाँ माटोमा इतिहास छ, ढुंगामा पुराण छन् र हावामा मन्त्रको गुञ्जन छ । यही पवित्र भूमिलाई नेपालको पहिलो तीर्थस्थलका रूपमा चिनिन्छ । विश्वास गरिन्छ, यहीँ भगवान् विष्णुले वराह अवतार लिएर पृथ्वीलाई संकटबाट उद्धार गरेका थिए । युगौँदेखि आस्थाको केन्द्र बनेको यही वराह क्षेत्रमा अब इतिहासमै नभएको एउटा महासंकल्प हुन लागेको छ– एक सय करोड दीप प्रज्वलन । यो नेपालकै इतिहासमा पहिलो पटक अभूतपूर्व धार्मिक अभियान हुन लागेको हो ।
‘नेपाल आमा स्वस्ती शान्ति पूजा अभियान–२०८२’ अन्तर्गत आगामी माघ १९ देखि २५ गतेसम्म आयोजना हुने श्रीमद् भागवत ज्ञान महायज्ञको अवसरमा यो अभूतपूर्व अभियान सञ्चालन हुन लागेको हो । दीपको उज्यालो केवल धार्मिक अनुष्ठान होइन, यो राष्ट्र शान्ति, मानव कल्याण र नेपाल आमाको मंगल कामनाको सामूहिक प्रार्थना रहेको श्री बैकुण्ठनाथ दिव्य धाम माता तीर्थ भागवत सेवा आश्रमका पीठाधीश श्री १००८ स्वामी भागवताचार्यले बताए ।
वराह क्षेत्रका मन्दिर, घाट र तीर्थ परिसरमा बालिने प्रत्येक दीपले धर्म, संस्कृति र परम्पराको रक्षा गर्दै समाजमा आशाको उज्यालो फैलाउने विश्वासका साथ एक सय करोड दीप प्रज्वलन गर्न लागिएको भागवतचार्यको भनाई छ ।
अभियानका मुख्य अभियन्ता हरि महतले यस अभियानलाई धार्मिक कार्यक्रमभन्दा पनि यो अभियान दान संकलनका लागि नभई चेतना संकलनका लागि आयोजना गरिएको हो । पैसा होइन, तेल र बात्ती दिनुहोस् उनले भने ‘हामी तीन करोड नेपालीको मुहारमा मुस्कान ल्याउन चाहान्छौं ।’
महतका अनुसार अभियान सफल बनाउन देशभरबाट तेल र बात्ती संकलन गरिनेछ । कुनै आर्थिक लेनदेन नहुने यो अभियानले नागरिकलाई धर्मसँगै जिम्मेवारीको अनुभूति गराउने अपेक्षा गरिएको छ ।
वराह क्षेत्र केवल धार्मिक तीर्थ मात्र होइन, यो नेपाली सभ्यताको एउटा जिउँदो स्मारक रहेको स्मरण गर्दै श्री १००८ स्वामी भागवताचार्यले कोशी नदीको काखमा अवस्थित यो स्थलले शताब्दीयौँदेखि ऋषि–महर्षि, साधुसन्त र श्रद्धालुलाई आकर्षित गर्दै आएको र त्यसमाथि विश्वमै पहिलो पटक एक सय करोड बात्ती बालेर पुरातन आस्थालाई आधुनिक चेतनासँग जोड्दै सामूहिक कल्याणको कामना गरिने छ ।
श्री बैकुण्ठनाथ दिव्य धाम, धार्मिक समाजसेवी अभियन्ता हरि महत र लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराको संयुक्त आयोजनामा यो अभियान सञ्चालन हुने शनिवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियानका प्रचारप्रसाद संयोजक मधुसुदन रिजालका अनुसार वराह क्षेत्रबाट प्रज्वलित दीपको उज्यालोले देश–विदेशमा रहेका नेपालीलाई पनि भावनात्मक रूपमा जोड्नेछ।
महायज्ञमा विश्वप्रसिद्ध कथा वाचक प्रविण पण्डित दिनबन्धु पोखरेलको प्रमुख कथा वाचन रहनेछ। भागवतका कथामार्फत जीवन, कर्म, करुणा र शान्तिको सन्देश प्रवाहित गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
श्री बैकुण्ठनाथ दिव्य धाम माता तीर्थ भागवत सेवा आश्रमका पीठाधीश तथा माइधार लक्ष्मीनारायण मन्दिरका उत्तराधिकारी समेत रहेका श्री १००८ स्वामी भागवताचार्यका अनुसार महायज्ञ आत्मिक शुद्धि मात्र होइन, सामाजिक रूपान्तरणको माध्यम पनि यो महायज्ञ बन्ने छ ।
पत्रकार सम्मेलनमा श्री निवासदास माता तीर्थ काठमाडौंका रुक्मणि रमण, पूजा सामग्रीकी महिला उद्यमी दुर्गादेवी रिजाललगायतको उपस्थिति थियो ।
महायज्ञमा झण्डै पाँच करोड रुपैयाँको बात्ती मात्रै बालिने र उत्त वात्ती बाल्न ७० हजार लिटर तेल आवश्यक पर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एक सय करोड दिप प्रज्वलन श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञका लागि तयारी थालिएको र देश तथा विदेशमा रहेका महानुभावहरु समक्ष राष्ट्र शान्तिको कामना सहति वात्ती र तेलको सहयोग मागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *