September 15, 2026

‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

0

झापा ।  गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। 
एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्छा बोकेको गीतले श्रोताको मन छुने भाव व्यक्त गरेको छ।

गीतमा ओमप्रकाश राईको संगीत रहेको छ भने पेमा शेर्पा राईको सशक्त गायनले भावनालाई जीवन्त बनाएको छ। गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन्। त्यस्तै, इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका हुन्।

गीतकार राईका यसअघि पनि थुप्रै गीत सार्वजनिक भइसकेका छन्।
२०७५ सालमा शिला खनालले गाएको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ राईकै सिर्जना हो। त्यसैगरी, २०७९ मा मनमा बी राई र २०८१ मा नवराज पराजुलीले गाएको ‘सञ्चो छौ कि विसञ्चो’ पनि उनको लोकप्रिय गीतमा पर्छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा निवासी राई दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन्। उनी साहित्य र पत्रकारितामा सक्रिय छन्।
उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) शीर्षकका दुई बालकथासंग्रह प्रकाशित छन्।

साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ अभियानमार्फत उनी लघुकथाको उन्नयनमा लागिरहेका छन्।
उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।

हालै मात्र गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ बजारमा आएको छ। यसका अतिरिक्त उनले ‘शैक्षिक पैरवी’‘नलिनी’ पत्रिकाबाट सम्पादन अनुभवसमेत बटुलेका छन्।

संगीत संयोजन सौम्य र भावनात्मक छ। ओमप्रकाश राईको संगीतले शब्दलाई दबाउने होइन, शब्दसँगै बग्ने प्रयास गरेको छ। पेमा शेर्पा राईको स्वरमा रहेको संयमता र भाकाको स्थिरताले गीतको पीडालाई चिच्याएर होइन, भित्रैबाट पोखिने दुखका रूपमा प्रस्तुत गरेको छ। यही कारण गीत सुन्दा करुणाभन्दा आत्मीय अनुभूति पैदा हुन्छ।

गीतको अर्को महत्वपूर्ण पक्ष यसको अन्त्यभाव हो। यहाँ प्रेम टुटे पनि घृणा छैन, बदला छैन—बरु शुभेच्छा र मौन विदाइ छ। यही बिन्दुले गीतलाई केवल बिछोडको कथा होइन, भावनात्मक परिपक्वताको अभिव्यक्ति बनाउँछ।

समग्रमा, ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ प्रेममा असफल भएकाहरूको साझा अनुभूति बोल्ने गीत हो। कम शब्द, सरल संगीत र आत्मीय स्वरमार्फत यो गीतले श्रोताको मनमा ढिलो तर गहिरो छाप छोड्न सफल देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *