April 29, 2026

शिवसताक्षीमा अज्ञात रोगले धान सखाप, किसानको पीडा: “अब के गर्ने?”

0

 विनोद सापकोटा

झापा ,  झापाको शिवसताक्षी नगरपालिका–२ का केही किसान अहिले बर्खे धानबालीमा लागेको अज्ञात रोगसँगै निराश र चिन्तित छन्। पाक्न लागेको बर्खे धान बाली रातारात सुक्न थालेपछि उनीहरूको निद हरण भएको छ ‌। शिवसताक्षी–२ का ९ जना किसानले लगाएको करिब ९ बिघा खेतमा धान काट्नै नपर्ने अवस्था‌ आयो । “काट्दा झनै खर्च लाग्छ, बरु डडेलो लगाउँदा मल बन्न सक्छ,” उनीहरू भन्छन्।

हिमाली क्षेत्रका किसान सीताराम बास्तोलाले एक बिघा खेतमा बीजी हर्निया जातको धान रोपेका थिए। बर्खे फसलमा आएको बाली बिक्री गरेर छोराछोरीको स्कुल फी तिर्छु, ऋण तिर्छु भनेर सोचेका बास्तोलाको सपना धानमा लागेको रोगका कारण दुई रातमै खरानी भयो। “मेरो खेतमा १ सय मन धान उत्पादन हुन्थ्यो । अहिले १ सय दाना पनि छैन,” उनले भने, “अब म के गरौँ?” बास्तोलाजस्तै अन्य आठ किसानको पनि उस्तै अवस्था छ। किसानहरूका अनुसार सुरुमा गाँज सप्रिएको देखिँथ्यो। तर बाला लाग्न थाल्नेबित्तिकै भुस मात्र देखिन थाल्यो। “३६ सालदेखि यतै छु, यस्तो रोग पहिले कहिल्यै देखिएको थिएन,” एकजना किसानले भने। धेरै किसान रोगको नामसमेत थाहा नपाएर हैरान छन्। “अघिल्लो साँझसम्म हरियो थियो, बिहान उठ्दा सुकिसकेको देखियो,” किसानहरू भन्छन्।

 

कृषि प्राविधिक खिरबहादुर श्रेष्ठ को खेतमा लगाइएको धान पनि यस रोगबाट सखाप भएको छ। नेपाल सरकारको कृषि प्राविधिकका रूपमा काम गरेर अवकाश पाएका श्रेष्ठ भन्छन्, “म पनि हैरान छु। खेतमा जानै मन लाग्दैन। यस्तो रोगबारे सुनेको पनि थिइनँ।” पाँच कठ्ठा खेतमा चैते धान लगाएकी सुशिला काफ्लेले यसपालि एक मन धान पनि थन्क्याउन नपाउने भएकी छन् । धान रोप्दा लगाइएका मजदुरहरूको पैसा अहिलेसम्म भुक्तानी गरेको छैन। धान फल्ला बिक्ला अनि उनीहरूको पारिश्रमिक दिउँला भनेर सोचेको थिए। धानको बालामा भुस देखेपछि उनीले अतालिँदै भनिन् अब के गर्नु ? “टन्टलापुर घाम लागेको बेलामा खेत जलाउनुको विकल्प छैन,” उनी भन्छिन्। जोगेन्द्र बुढाथोकी, योगेन्द्र अधिकारी, रामबहादुर विकहरू पनि उस्तै पीडामा छन्।

रामबहादुर विकले १५ कठ्ठा खेतमा धान रोपे। अहिले ८० प्रतिशत भुस र २० प्रतिशत मात्रै धान उत्पादन हुने आशंका छ। “सर, जोतेको, गोडेको, मल हालेको, पानी हालेको, मजदुर खर्च सबै गर्दा हामी घाटामै गयौँ,” उनले पूर्वाञ्चल दैनिकसँग दुःख पोखे। ड्राइभर चोकका किसान ओमप्रसाद उप्रेतीको खेतमा लगाएको १४ कठ्ठा धानमध्ये ९९ प्रतिशत भुस भएको छ। “अब हिउँदे धानमा पनि यस्तै भयो भने हामी भोकै पर्न सक्छौँ,” उनी भन्छन्। स्थानीय शिवकुमारी मैनालीले भने रोगको कारण मलखाद हुन सक्ने अड्कल गरेकी छन्। “मल खाद अभावमा गुणस्तरहीन भारतीय मल प्रयोग गरियो। सायद त्यसैले यस्तो भयो,” उनले भनिन्।

 

नगरपालिका, वडाकार्यालय र कृषि प्राविधिकको टोलीले पीडित क्षेत्रको अवलोकन गरेको छ। नगरप्रमुख मेगाहाङ थोप्रा र कार्यपालिका सदस्य कुमार राई सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो । कार्यपालिका सदस्य राई भन्छन्, “किसानको यस्तो अवस्था देख्दा हामी दुःखी भयौं। क्षतिपूर्तिका लागि हामी अधिकतम प्रयास गर्छौँ।” कृषि प्राविधिकको प्रारम्भिक अनुमानमा यो समस्या ‘नेकब्लास्ट’ नामको रोगका कारण भएको हुनसक्ने देखिएको छ। “तत्काल थाहा पाएर औषधि छर्किएको भए नियन्त्रण सम्भव थियो,” एक प्राविधिकले भने।

 

धान खेतीमा ट्याक्टर, मजदुर, मल, सिंचाइ लगायतमा बिघाप्रति करिब ४०–४५ हजार रुपैयाँ खर्च हुने किसान बताउँछन्। उनीहरूले कम्तीमा खर्च बराबरको क्षतिपूर्ति स्थानीय सरकारबाट माग गरेका छन् । किसानहरू भन्छन्, “यति धेरै लगानी गरेपछि धान नै नफलेपछि सरकारले राहत नदिए हामीसँग विकल्प केही छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *