नागरिकता बिहीन बिर्तामोडका ७७ बर्षीय थापाकोे पीडा,आफ्नै देशमा अनागरिक
उद्धव पुरी
बिर्तामोड, आफ्नै मातृभूमिमा अनागरिक हुनुको पीडा भोगिरहेका छन् ७७ वर्षीय एक वृद्ध । यो कुनै दूरदराज गाउँको कथा होइन, बिर्तामोड –५ का प्रकाश थापाको पीडायुक्त भोगाइ हो ।
नेपालीले नै ७७ बर्षसम्मको उमेरमा पनि नागरिकता लिन पाएका छैनन्भन्दा धेरैलाई अचम्म पनि लाग्न सक्ला । तर, झापाको बिर्तामोडमा बि.स. २०१८ सालदेखि बस्दै आएका थापाले भने अझै नागरिकता बनाउन सकेका छैनन् । परिवारका सबै सदस्यको नागरिकता भएपनि प्रकाश भने ७७ बर्षसम्म नागरिकता बिहीन छन् । उनका दाजुभाइ, श्रीमती र छोराको नागरिकता छ तर, उनको छैन । उनकी श्रीमतीको माइतमै नागरिकता बनेको थियो । त्यसकै आधारमा छोराको पनि नागरिकता बन्यो ।
रामेछापको गोलाखर्कमा बिस २००४ सालमा जन्मिएका थापाले अहिलेसम्म नागरिकता नहुँदा नेपाल सरकारले दिँदै आएको जेष्ठ नागरिक भत्ताबाटसमेत बञ्चित हुनु परेको छ । थापाकी श्रीमती डल्ली र छोरा राम थापा हाल प्रकाशसँग बस्दैनन् । उनीहरु अलग्गै बुट्टाबारीमा बस्दै आए पनि छोरा बेलाबेलामा बुबालाई भेट्न आउनेजाने गरेको प्रकाश बताउँछन् ।
शिक्षाको कमीसँगै पटक–पटक आफूले नागरिकता बनाउन गरेको कोशिस असफल भएपछि नागरिकता बनाउन नसकेको उनको गुनासो छ । नागरिकता दिने वातावरण बनाइदिन सवै समक्ष आग्रह गरेका छन् । थापाले सवै राजनीतिक दल, सामाजिक ब्यक्तित्व, सामाजिक संघसंस्था साथै सरोकारवाला निकायमा नागरिकता बनाउन पहल गरिदिन अपिलसमेत गरेका छन् ।
यस्तो छ थापाको जीवन भोगाइ
बिस २००४ सालमा रामेछापको गोलाखर्कमा जन्मिएका थापा सानै छँदा बुवाआमाको मृत्यु भएको थियो । त्यो समय जेठा दाजु झापाको अर्जुनधारा– ७ मा आएर बसेका थिए । चारभाइ दाजुभाइ मध्ये प्रकाश कान्छा हुन् । उनी १४ बर्षको उमेरमा जेठा दाजु डिल्लीको घरमा आए । उनका साइँला दाजु सानैदेखि बेपत्ता भएको र अहिलेसम्म सम्पर्कमा नआएको प्रकाश बताउँछन् । माइला दाजु रामबहादुर थापा उर्लाबारीमा बस्दै आएका थिए । रामबहादुरको मृत्यु भइसकेको प्रकाश बताउँछन् । जेठा दाजु डिल्ली र माइला रामकोसहित सवै परिवारको नागरिकता छ । तर, प्रकाश भने नागरिकता बिहीन छन् ।
‘बुबा आमाको म सानै छँदा मृत्यु भयो, बुबाआमाका पालामा नागरिता थिएन, प्रकाश भन्छन् – ‘म पनि सहारा खोज्दै दाजुकहाँ आए, कहिले कता, कहिले कता गर्दा मेरो बस्ने टुङ्गो पनि भएन, नागरिकता चाहिन्छ भन्ने जानकारी पनि भएन, जब नागरिकता चाहिन्छ भनेर प्रयास गरे बनाउन सकिनँ ।’
गोलाखर्कबाट २०१८ सालमा हाल अर्जुनधारा–७ मा रहेका दाजु डिल्लीकोमा आँए । ६ महिना दाजुसँग बस्दै आएका उनी सोही स्थानका धर्मप्रसाद ढकालको घरमा बाख्रा हेरेर बसे । त्यसपछि कामको खोजीमा भारतको कोलकाता गए । काम नभेटे पछि पुनः दाजुकै घरमा फर्किए । फेरि सोही स्थानका हरिबिलाष पटवारीको घरमा केटाकेटी हेर्ने काम गर्न थाले ।
बिस २०२४ देखि २०२७ सम्म काठमाडौं गएर इलेक्ट्रीसियनको काम सिके । फेरि झापा फर्किएर २०२८ सालमा बिर्तामोडस्थित बिर्ताबजारमा बसेर जीपमा खलासीको रुपमा काम गरे । बिर्तामोडका भरतलाल गिरीसँग चिनजान भएपछि गिरीबन्धु टि–इस्टेटमा इलेक्ट्रीसियनको काम गरे । २०३८ सालमा पहिलो बिवाह गरेका उनको श्रीमतीसँग एक बर्षमै बिछोड भयो । पुनः २०३९ सालमा दोस्रो बिवाह गरे । दोस्रो बिवाह गरेका थापाको एक मात्र सन्तान छोरा राम हुन् ।
नागरिकताका लागि थापाले पटक–पटकको प्रयास गरेपनि अफिसका मान्छेले घुस मागेपछि आफूसँग पैसा नभएकोले नबनेको उनी बताउँछन् । हाल सुदर्शन गिरी, भरतलाल गिरीसहित गिरी परिवारको संरक्षणमा बस्दै आएका प्रकाशले नागरिकता लिनका लागि प्रयास भने नगरेका होइनन् । उनले भने –२०५९ सालमा नागरिकताका बनाउन गएँ तर त्यतिखेर पनि पैसा मागेपछि फर्केर आएँ ।
फेरि उनका भतिज, दाजु डिल्ली र भाउजू पूर्णमाया थापाले पनि उनको नागरिकता बनाइदिने कोशिस गरे । त्यहाँ पनि ठूलो रकम मागेपछि पुनः उनको नागरिकता नबनेको उनले बताए । त्यसपछि भने अहिलेसम्म थापा नागरिकता बिहीन छन् ।
नेपाल सरकारले ७० बर्षको उमेरदेखि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर, प्रकाशको नागरिकता नहुँदा ७ बर्षदेखि भत्ताबाटसमेत उनी बञ्चित छन् । प्रकाशकी भाउजू देवरको नागरिकता नबन्दा आफू दुःखी भएको बताउँछिन्् । ‘हामीले नागरिकता लागि धेरै प्रयास ग¥यौैं’ उनले भनिन्– बनाउन सकेनौं । उनले प्रकाश नेपाली भएको र नागरिकता पाउने अधिकार पनि भएकाले सवैले नागरिकता बनाउन पहल गरिदिन आग्रह गरिन् ।
यस्तो छ स्थानीय र प्रकाशलाई चिन्नेजान्नेको भनाइ
बिर्तामोड– ५ का स्थानीय सन्तोष गिरीले आफूले ८ बर्षको उमेरदेखि प्रकाशलाई चिनेको र उनी नेपालमै जन्मिएका र नेपाली भएकाले नागरिकता दिनु पर्नेमा जोड दिए । उनले सवै राजनीतिक दल, सामाजिक ब्यक्तित्व, सामाजिक संघसंस्थाले प्रकाशको नागरिकताका लागि पहल गर्नु पर्ने बताए । उनले प्रकाशको नागरिकताका लागि सक्दो सहयोग गर्नेसमेत आश्वासन दिए ।
त्यस्तै अर्का स्थानीय पूर्ण गोयलले प्रकाशलाई २०३१ सालदेखि नै चिनेको बताए । प्रकाशको नागरिकता छैन भन्ने आफूले थाहा नपाएको र प्रकाशलाई नागरिकता दिलाउनका लागि सकेको सहयोग गर्ने बताए ।
भरतलाल गिरी, सुदर्शन गिरी, शंकर गिरी, अर्जुन खवासलगायतका स्थानीयले पनि प्रकाशलाई नागरिकता दिलाउन सक्दो सहयोग गर्ने बताएका छन् ।
