September 19, 2026

खाद्यान्नको घर भँडार छ देश राम्रो
निर्यात भो अघि पुगेर विदेश हाम्रो
छाडेर उर्बर जमिन विदेश जाँदा
बाँझा भए सब जमीन किनेर खाँदा ।।

आयो असार महिना सित मेघ काली
वर्षा भयो धरणिमा अब रम्न थाली
लागौं उठौं सकल मित्र किसान जोछौं
बाँझो नराख सब खेत मिलेर रोपौं ।।

अल्छि गरेर यदि बस्छ असार मास
पाउन्न खान उसले भर पेट गाँस
लाएर जुक्ति बलले खन जोत गर्दा
आनन्द हुन्छ ढिकुटीपछि धान भर्दा
लागौं न खेत तिर बोक हलो र दाँदे
औजार हुन् सब थरी हँसिया र चाँदे
बाँडेर काम सबले गरुँ चित्तलाई
फल्ने छ धानपछि अमृत तुल्य भाइ
जोतौं खनौं सब मिली कति हुन्छ मान ?
बेला छँदै बल गरौं तब फल्छ धान
साएर दल्दल हिलो खन छेउ आली
रोपौं न धान मलमा कति फल्छ बाली

बिर्तामोड–५ झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *