पूर्व जनप्रतिनिधि, जग्गादाता एवम् ज्येष्ठ नागरिकहरुलाई वडाको सम्मान
अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० नं. वडा कार्यालयले शुक्रबार एक कार्यक्रमकोबिच वडामा रहेका पूर्व जनप्रतिनिधि, जग्गादाता एवम् ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
तत्कालिन् शनिश्चरे गाँउ पञ्चायत, साविक शनिश्चरे गाँउ विकास समिति र हाल स्थानीय तहका गरि जम्मा १० जना पूर्व जनप्रतिनिधिलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको कार्यालयका वडा सचिव त्रिविक्रम पोखरेलले जानकारी दिए ।
यसरी सम्मानित हुनेहरुमा तत्कालिन् प्रधानपञ्च दुर्गालाल श्रेष्ठ, पूर्व गाविस उपाध्यक्षद्वय टंक बराल र तिलविक्रम ढकाल, वडाध्यक्षहरु देवुसिंह गोम्देन तामाङ, महालाल पौडेल, रामचन्द्र खरेल र हरिप्रसाद अधिकारी, वडा सदस्यहरु फिपराज लिम्बू, भोलानाथ गौतम र सकुन्तला बराल रहेका छन् ।

त्यसैगरी वडा कार्यालयको भवन, स्वास्थ्य इकाई निर्माण गर्न निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुमध्ये टंकनाथ पोखरेल, योगनाथ पोखरेल, प्रेमसागर सापकोटा र गोविन्द खतिवडालाई पनि सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । अन्य जग्गादाताहरुलाई यस अघिको कार्यक्रमहरुमा सम्मानित गरिएको बताइएको छ ।
सोही कार्यक्रममा अपाङ्गतातर्फ स्थानीय कमला कार्कीलाई प्रशंसा पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । हाल उनी एक्सल डेभलपमेन्ट बैंक लिमिटेडको शनिश्चरे शाखामा जुनियर एसीसटेन्ट पदमा कार्यरत् छिन् । त्यसैगरी कार्यक्रममा १७ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई यातायात खर्चसहित सम्मानित गरिएको थियो ।

स्थानीय पञ्चकन्या मन्दिरको सभाहलमा वडाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठक “चिन्तन”, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमाल, वडाध्यक्ष न्यौपानेलगायतले सम्मानित गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रिमाल, सामाजिक व्यक्तित्व रोहितमान ढकाल, पूर्व जनप्रतिनिधिहरुकोतर्फबाट टंक बराल र जग्गादाताहरुकोतर्फबाट प्रेमसागर सापकोटाले मन्तव्य राखेका थिए । वडा सदस्य तुलसा विष्टले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडासचिव पोखरेलले गरेका थिए ।
त्यसैगरी अक्षय तृतीयाको अवसरमा कार्यक्रमका सहभागीहरुलाई सातु र सर्वत वितरण गरिएको थियो ।
