September 19, 2026

दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’

0

काठमाडौँ,

दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ ।

कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले आज यहाँ आयोजना गरेको मुखको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल क्यान्सरका बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर पाइएको बताइएको हो ।

कार्यक्रममा नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीका कार्यकारी निर्देशक एवम् क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले सूर्तीजन्य पदार्थको जथाभावी प्रयोगले मुखको क्यान्सरका बिरामी बढेका बताउनुभयो । “चुरोट, बिँडी, हुक्का, तम्बाकु, गुड्खा, पानलगायतका सूर्तीजन्य पदार्थसेवनका कारण मुखको क्यान्सरका बिरामी बढ्दै गएका छन् ।

नेपालमा हिमाल र पहाडको तुलनामा तराईमा मुखको क्यान्सरका बिरामीको संख्या धेरै रहेको पाइएको छ”, उहाँले भन्नुभयो । त्यसैगरी वार्षिक दुई प्रतिशत बिरामीको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको पाइएको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सतीश देवले काउन्सिलले क्यान्सरपीडित बिरामीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र त्यस कार्यमा यस्ता अन्तर्राष्ट्रिय गोष्ठीमा व्यक्त तथ्य र तथ्याङ्कले थप रणनीति बनाएर काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले देशभरका दन्त चिकित्सकलाई मुखको क्यान्सरसम्बन्धी तालिम दिन जरूरी रहेको उल्लेख गर्नुभयो। पछिल्लो समय बढ्दै गएको मुखको क्यान्सरसम्बन्धी समस्याबारे जानकारी दिन कान्तिपुर डेन्टल कलेजले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको समेत बताउनुभयो ।

एकदिने अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत र बङ्गलादेशका एक सयभन्दा बढी डाक्टरको सहभागिता थियो । मुखको क्यान्सर पत्ता लगाउन हाल नेपालमा वायस्पी प्रविधिको प्रयोग हुँदैआएको छ । आगामी दिनमा लेजर प्रविधि र भेलोस्कोप प्रविधिसमेत प्रयोगमा ल्याउने विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *