September 17, 2026

पर्यटन नै समृद्धिको आधार

0

 

कुनै पनि देशको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक मूल्य र दिगो विकासका निम्ति पर्यटनको महŒवपूर्ण भूमिका रहेको हुन्छ । त्यही भूमिका र पर्यटन क्षेत्रको योगदानका सम्बन्धमा जागरुकता ल्याउन विश्व पर्यटन दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको आह्वान अनुसार प्रत्येक वर्षको सेप्टेम्वर २७ लाई विश्व पर्यटन दिवस मनाउन थालिएको हो । सन् १९८० देखि मनाउन प्रारम्भ गरेको यो दिवसको यस वर्षको नारा ‘टुरिजम एण्ड ग्रीन इनभेस्टमेन्ट’ रहेको छ । त्यसो त पर्यटन अर्थात् घुमफिर गर्ने प्रचलन त्यस अघि नै प्रारम्भ भइसकेको थियो । यस्तै घुमफिर कै क्रममा भएको डिगामाले नयाँ मुलुक पत्ता लगाएका थिए । मार्को पोलो काप्टेन कुक लगायतको भ्रमण र अन्वेषणले नयाँ ठाउँका बासिन्दा, तिनको सभ्यता, परम्परा र संस्कार आदानप्रदानमा सहयोग गरेको थियो । तर, सबै मुलुकले लाभ लिने गरी पर्यटनलाई उद्योगका रुपमा विकास गर्न भने संयुक्त राष्ट्र संघको घोषणाले औपचारिकता प्रदान गरेको हो ।

पर्यटनले दुई भिन्न समाज, सामाजिक व्यवस्था र सभ्यताको आदानप्रदान गर्दैन । यसले विदेशी मुद्रा आर्जन गर्ने, रोजगारीको सृजना र राष्ट्रको मान–प्रतिष्ठान बढाउन पनि योगदान दिन्छ । त्यसैले नेपाल जस्तो प्राकृतिक, सामाजिक, भौगोलिक तथा सांस्कृतिक विविधता भएको देशका लागि त पर्यटन उद्योगको झनै ठूलो महत्व हुन्छ । देशको सर्वाङ्गिण विकासका निम्ति सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरु निर्माण गर्नुपर्छ । विकट भू–धरातलमा भएका दुर्लभ दृष्यावलोकनका निमित्त यातायात, आवास, खाद्यवस्तु, औषधोपचार लगायतका पूर्वाधारहरु सुनिश्चित गरिनु पर्दछ । मानव जाति स्वयम् घुम्न मन पराउने, जान्न खोज्ने र नवीनता चाहने प्राणी हो । तसर्थ, विश्वका मानिसलाई हाम्रो देशतर्फ आकर्षित गर्ने, आएकाहरुलाई निश्चिन्त र रोमाञ्चकताको अनुभूति गर्ने वातावरण तयार गर्नु राज्यको दायित्व हो ।

पर्यटन व्यवसाय विश्वकै लागि अर्थ उपार्जनको ठूलो उद्योग हो । यो दिवस त्यही उद्योगको पूर्णता र सफलताको चिनारी बनोस् । विगतमा वैश्विक महामारीका रुमपा फैलिएको कोरोनाले थला परेको हाम्रो पर्यटन व्यवसायलाई भरथेग गरेर भविष्यको सुनिश्चितताका लागि राज्यले नै अग्रसरता देखाउनु पर्दछ । हाम्रो राष्ट्रिय आयको ठूलो हिस्सा ओगटेको पर्यटन व्यवसायबाट हुने लाभहरुका सम्बन्धमा व्यापकरुपमा जनचेतना विस्तार गर्दै पर्यटकमैत्री वातावरण तयार गर्नु आजको आवश्यकता हो । यस वर्षको पर्यटन दिवस भव्यरुपमा सम्पन्न होस्, लक्षित पर्यटकहरु भित्रियुन् र आर्थिक उन्नतिको आधार तयार होस् । यस वर्षको नारा जस्तै हरित लगानीको लक्ष्य पनि पूरा हुँदै जाओस्, यसमै हामी सबैको कल्याण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *