September 15, 2026

शनिश्चरे अस्पतालमा बहिरंग सेवा विस्तार

0
अमित खम्बू,
अर्जुनधारा ।
 झापाको अर्जुनधारा–९स्थित शनिश्चरे अस्पतालमा आइतबारदेखि बहिरंग सेवा विस्तार भएको छ ।
स्वास्थ्य परीक्षणको लागि अस्पतालमा आउने सेवाग्राहीहरुको भीड व्यवस्थापन तथा उनीहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यले बहिरंग सेवा विस्तार गरिएको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले बताए ।
यस अघि १० बजेदेखि ५ बजेसम्मको सेवालाई थप दुई घण्टा विस्तार गरिएको हो । शाखाका संयोजक बस्नेतका अनुसार अब सेवाग्राहीहरुले विहान ८ बजेदेखि ५ बजेसम्म विशेषज्ञसहितको चिकित्सकहरुबाट ओपीडीको सेवा प्राप्त गर्ने बताइएको छ ।
त्यसैगरी नियमित औषधी सेवन गर्ने बिरामीहरुलाई लक्षित गरी कोभिड–१९ महामारीको समयबाट प्रत्येक दिन विहान ७ बजेदेखि सञ्चालन हुँदै आएको पुरानो पुर्जाको आधारमा नयाँ पुर्जामा औषधी वितरण गर्ने कार्यलाई पनि अस्पताल प्रशासनले रोक लगाएको छ ।
चिकित्सकबाट बिरामीहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र स्वास्थ्य अवस्था तथा रिपोर्टको आधारमा औषधी थपघट गर्नु भनि स्वास्थ्य बीमा बोर्डले परिपत्र गरेको हुँदा उक्त कार्यलाई रोक लगाइएको अस्पताल प्रशासनबाट जारी भएको सूचनामा उल्लेख गरिएको छ । ।“बीमाबाट प्राप्त हुने सेवाका लागि अब बिरामी आफै उपस्थित भई चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने छ ।”–शाखा संयोजक बस्नेतले प्रष्ट पारे ।
त्यसैगरी अस्पतालले आगामी साउनदेखि अत्याधुनिक कलर डपलरसहितको फोरडी भिडियो एक्सरे सेवा, डिजीटल एक्सरे सेवा, उच्च प्रविधियुक्त अत्याधुनिक ल्याब सेवा, हाल सञ्चालनमा रहेको फार्मेसीलाई थप व्यवस्थित गर्ने र ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिकाहरुका लागि छुट्टै बहिरंग कक्ष सञ्चालन गर्ने बताइएको छ ।
शाखाका अनुसार हाल अस्पतालमा एक जना विशेषज्ञ एमडीजीपी डाक्टर दीक्षान्त प्रसाईं, मेडिकल अफिसरहरु डा.अभिषेक देव, डा.अमृतराज गिरी, डा.आरती पाण्डे र डा. निमेश श्रेष्ठबाट बिरामीहरुको स्वास्थ्य परीक्षण भइरहेको छ ।
अर्जुनधारासँगै छिमेकी जिल्ला इलामको माई नगरपालिका र रोङ गाँउपालिका, छिमेकी पालिका बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाँउपालिकाबाट सेवाग्राहीहरु सेवा लिन आउने उक्त अस्पतालमा दैनिक औषत तीन सयदेखि तीन सय ५० जनाले सेवा लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक सन्तोष चिमरीयाले जानकारी दिए ।
वि.सं. २०५४ सालमा उपस्वास्थ्य चौकीको रुपमा स्थापना भई वि.सं.२०५९ सालमा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै वि.सं. २०७७ साल असोजमा १५ शैय्याको अस्पतालमा स्तरोन्नती भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *