September 15, 2026

अर्जुनधारामा लेखनसीप कार्यशाला सम्पन्न

0

अर्जुनधारा ।

विभिन्न कागजात लेखन सम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले अर्जुनधारा नगरपालिकाको आयोजनामा आयोजित तीन दिने लेखनसीप कार्यशाला आइतबार सम्पन्न भएको छ ।

अर्जुनधारा–७स्थित पितृमोक्ष भवनको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा कार्यशालाका ४० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यशाला सहजिकरण गर्ने संस्था बिर्तामोडस्थित टाइम्स मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

सहभागी केदारप्रसाद खतिवडाले कार्यशालाको अनुभव प्रस्तुत गरेको कार्यक्रममा उपप्रमुख पराजुली, नगर सभा सदस्य एवम् न्यायिक समितिका सदस्य तुम्मनाथ काफ्लेलगायतले सहभागीहरुलाई कार्यशालाबाट प्राप्त सीपलाई व्यावहारिक जीवनमा प्रयोग गर्न सुझाएका थिए ।

सहजकर्ताहरु अधिवक्ताद्वय चुँडामणि पराजुली र हेमकला कट्टेलले सहजिकरण गरेको तालिममा प्रतिउत्तर लेखन, उजुरी लेखन, फिरात लेखन, संयुक्त उजुरी लेखन, जाहेरी आदि बारे सहजिकरण गरिएको कार्यशालाका कार्यक्रम संयोजक एवम् सञ्चारकर्मी प्रदीप परियारले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक परियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *