कमल नगर अस्पतालमा हेल्पिङ हेन्डको सहयोग
दमक,

झापाको कमल नगर अस्पताललाई अमेरिकास्थित हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभ्लप्मेन्ट नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाले वर्क फर नेपाल मार्फत करिब ५० लाख मुल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
गाउँपालिकाद्धारा सञ्चालित सो अस्पताललाई दोश्रो पटक सो संस्थाले बुधबार कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुको प्रमुख उपस्थितीमा सर्जिकल तथा प्रयोगशाला ( ल्याब) सँग सम्बन्धित २०० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सामग्री गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालका मेसु डा. पुलक लिम्बुलाई हस्तान्तरण गरेका छन ।
सोही अवसरमा मन्त्री लिम्बु र वर्क फर नेपालका मेनेजर जिवप्रसाद पोखरेलले संयुक्त रुपमा अस्पताल परिसरमा जडान गरिएको खानेपानी प्लान्टको समेत उदघाटन गरेका छन । प्लान्टबाट वितरित पानी पिएर उनीहरुले सोको उदघाटन गरेका हुन ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री लिम्बुले स्वास्थ्य र खानेपानी दुवै संविधानमा उल्लेखित नागरिकको मौलिक हक भएकोले सरकार यसप्रति संवेदनशील रहेको चर्चा गरिन ।
उनले वर्क फर नेपाल र दाता संस्था हेल्पिङ हेन्डले स्वास्थ्य जस्तो संवेदनशील बिषयमा गरेको सहयोगको प्रशंसा गर्दै यस किसिमका सहयोगका कार्यक्रमहरु अन्य पहाडी तथा विकट ठाउँहरुमा समेत पुरयाउन आग्रह गरिन । उनले अस्पतालको सेवालाई प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक थप जनशक्तीको पदपूर्ति लगायतका उपकरणहरुको व्यवस्थाका लागि पनि प्रतिबद्धता जनाइन ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पालिकामा पदभार ग्रहणसँगै गरिएको प्रतिबद्धता अनुरुप अस्पतालको बिकास र प्रदान गरिने सेवाको विस्तारलाई अघि बढाउन हेल्पिङ हेन्ड र वर्क फर नेपालले गरिरहेको योगदानको प्रशंसा गरे । उनले यस किसिमका सहयोगले नागरिकहरुको सेवामा अझ बढी जिम्मेवार बनेर लाग्न उत्साह मिलेको पनि उल्लेख गरे ।
अध्यक्ष राईले कमल गाउँपालिकाबासीलाई स्थानीयस्तरमै सम्भव भए सम्मको उपचार सेवा प्रदान गर्न र स्वास्थ्य बीमा कार्यक्रम ९ महिनाको अवधिमा सुचारु गर्न सफल भएको चर्चा गर्दै स्वास्थ्य सेवा स्थानीय सरकारको प्राथमिकताको बिषय हुँदाहुँदै पनि आफनै स्रोतबाट सबै आवश्यकताको परिपूर्ती नहुने भएकाले माथिल्लो तहका सरकार र दाता संस्थाहरुको सहयोग अपरिहार्य भएको पनि बताए ।
कार्यक्रममा वर्क फर नेपालका व्यवस्थापक पोखरेलले यसअघि कमल नगर अस्पताललाई प्रदान गरिएको स्वास्थ्य सामग्रीको उपयोगिता बढीनै भएकाले संस्थाले पुनः दोश्रो पटक यस किसिमको सहयोग उपलब्ध गराउन उचित ठानेको बताए ।
वर्क फर नेपालका अध्यक्ष तिलचन्द अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पनि वर्क फर नेपाल र हेल्पिङ हेन्डले गरेको सहयोगको प्रशंसा गरिन ।
वर्क फर नेपालले जिल्लाका अन्य पालिकाहरु झापा गाउँपालिका, बाह्रदशी, शिवसताक्षी लगायतका पाँच पालिकामा विभिन्न स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको कोषाध्यक्ष दिनेश संग्रौलाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय झापामा १ करोड ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गर्ने काम भइरहेको छ । सो संस्थाले विशेष गरी शुद्ध पिउने पानीका लागि बिद्यालय तथा सार्वजनिकस्थलहरुमा जडान गरेको खानेपानी प्लान्ट धेरै उपयोगी भएको सम्बन्धित क्षेत्रका उपभोक्ताहरुले गर्ने गरेका छन ।
