May 2, 2026

सत्पात्रको परख गर्ने समय

0

आसन्न आमनिर्वाचनका लागि उम्मेदवारका प्रत्यासीहरुलाई अब चटारो शुरु भएको छ । यसबेला भोट माग्न मतदाताको घर–घर पुग्नुपर्ने र मतदातालाई रिझाएर निर्वाचन जित्नुपर्ने आवश्यकताले उम्मेदवारहरुलाई अबको समय भ्याइनभ्याइ हुन्छ । खासगरी विकासशील देशको साझा समस्याका रुपमा रहेको मत माग्ने र नमाग्नेलाई भोट नदिने संस्कृतिका कारण पनि आमनिर्वाचन ठूलै पर्व जस्तै बन्ने गरेको छ । हामीकहाँ मतदाताले उम्मेदवारको परख गरेर मत दिने परिपाटीको विकास भइनसकेकाले निर्वाचन भन्नासाथ हुलहुज्जत, नाराजुलुस, ¥याली र सभालाई जीतहारको मापदण्ड बनाइन्छ । यसका आधारमा हुने निर्वाचनमा आचारसंहिता इमान्दारिता, निष्ठा, सिद्धान्त, क्षमता र योगदान गौण हुन्छन् ।

मतदाता सचेत नहुञ्जेलसम्म योग्य, सक्षम, इमान्दार तथा नैष्ठिक व्यक्तिले निर्वाचन जित्नै सक्दैन । रामरमाइलो, भोजभतेर, आर्थिक लेनदेन, आश्वासनमा श्रेष्ठहरु नै जनप्रतिनिधि चुनिन्छन् । त्यस्ता पात्रहरुको नेतृत्वमा न विकासले गति लिन्छ न त देश र जनताको समृद्धि नै सम्भव हुन्छ । यसैले मतदाता स्वयम् सचेत हुन जरुरी छ, सत्पात्रको परीक्षण र चयन गर्न सक्षम हुनैपर्छ । बहुदलीय प्रणालीको प्रारम्भ भएको तीस वर्ष बितिसकेको छ, यसबीचमा भएका आवधिक निर्वाचनहरुले धेरैलाई भूइँबाट आकाशमा पु¥याइसकेको छ । तर, मतदाता झन–झन तल र झन–झन गरीब बन्दै गएका छन् । त्यसैले अबका मतदाताले विगतका प्रतिनिधिबाट आफू र देशले के पायो आफैसँग सवाल गर्नुपर्छ ।

निर्वाचनका समय घर–आँगनमा टुप्लुक्क आइपुग्ने मौसमी जनप्रतिनिधि बन्न इच्छुक उम्मेदवारका चिप्ला कुरा र खोक्रा आश्वासनमा अब मतदाता अलमलिनु हुँदैन । उनीहरुका घोषणा वा प्रतिबद्धतापत्र माथि विश्वास गर्नु पनि हुँदैन । हिजोका आश्वासन कति पूरा भए ? हाम्रा शिरमाथिको ऋणको भार कति कम भयो वा बढेर गयो त्यसको हिसाब खोज्नु पर्दछ । भुइँमान्छेको जीवनशैली, स्तर र आर्थिक क्षमता कहाँ पुग्यो त्यसको पनि हेक्का राख्नु पर्दछ । मतदाता सार्वभौम शक्ति हुन्, त्यसैले आफ्नो शक्तिको पहिचान गर्न र त्यसको सदुपयोग गर्न ‘राम्रा मान्छे’ छान्न सक्नुपर्छ । समयमा बुद्धि पु¥याइएन भने ‘पुर्पुरोमा हात’ राख्नु बाहेक केही बाँकी रहने छैन । त्यसैले मंसीर ४ लाई आफ्नो, आफ्ना सन्तान र देशको भविष्य सुनिश्चित गर्न योगदान दिने व्यक्तिको छनौट गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ । मतदाता कुनै दलको अह्रौटे वा भरौटे होइनन्, हुँदैनन् र आफ्नो सुदूर भविष्य निर्माण गर्ने सत्पात्र चयन गर्न सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *