प्रदेश नंं. १ का हक्की खेलाडीहरुलाई बिर्तामोडमा विदाइ
बिर्तामोड ।

पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन जाने प्रदेश नंं १ का हक्की खेलाडीहरुलाई बिर्तामोडमा विदाइ गरिएको छ । झापा जिल्ला खेलकुद विकास समितिले बिर्तामोडस्थित अतिथि सदनमा एक कार्यक्रम गरी उनीहरुलाई विदाइ गरेको हो ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको अध्यक्षता तथा नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरुष तथा महिला टिमका खेलाडीलाई विदाइ गर्दै सफलताको शुभकामना दिइएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन जाने प्रदेश नंं १ का १८ जना पुरुष खेलाडी र १८ जना महिला खेलाडी रहेका छन् । उनीहरुसंगै हक्की पुरुष खेलाडीहरुको टीम म्यानेजर जगन कार्की दुर्वासा , टीम कोच थलु राजभण्डारी र महिला खेलाडीहरुको टीम म्यानेजर धर्मराज शिवाकोटी र टीम कोच गंगा भूर्तेल कोइरालालाई समेत विदाइ गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, औषधी व्यवसायी संघका जीवन खड्का , नेपाल आदीवासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेललगायतले खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको सहजीकरण प्रतियोगिताका सचिवालय सदस्य तथा कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।
