September 13, 2026

केपी ओलीसँग युग पाठक चुनाव लड्ने, झापा ४ मा युक्त भेटवाल, २ मा स्वागत नेपाल उठ्ने

0

झापा,

झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट चर्चित लेखक तथा साहित्यकार युग पाठक प्रतिनिधि सभा सदस्य चुनाव लड्ने भएका छन्। पाठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन्।

निर्वाचनमा जानुपूर्व पाठकले घोषणापत्र तयार पारिरहेको र घोषणापत्रसहित उमेदवारीको औपचारिक घोषणा गरिने पाठक निकट स्रोतले बतायो। झापामै हुर्किएका पाठक स्वतन्त्र नागरिक आन्दोलनका अगुवासमेत हुन्।​

उनी झापा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार बन्न लागेका हुन्। त्यसैगरी झापाका चर्चित वामपन्थी नेता युक्त भेटवाल पनि आगामी मंसिर ४ गते हुने चुनावमा झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन्। झापा क्षेत्र नम्बर ४ पनि ०७४ सालमा एमालेले नै जितेको क्षेत्र हो।

मदन भण्डारीसँगै काम गरेका पूर्वएमाले नेता भेटवाल विगतमा एमालेकै अन्तरघातका कारण प्रतिनिधि सभा सदस्य चुनावमा हारेका थिए। पछिल्लो समय कुनै दलमा आबद्ध नरहेका भेटवाल यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्य चुनावमा भिड्न लागेका हुन्। झापामा भेटवाल सादगी एवं इमान्दार नेताका रूपमा चिनिन्छन्।

पछिल्लो समय झापामा स्वतन्त्र उम्मेदवारहरूतर्फ आकर्षण बढ्दै जान थालेको पाइएपछि स्वतन्त्र उम्मदेवारी दिनेहरूको संख्या बढ्ने देखिएको छ। यसैबीच उन्नत लोकतन्त्र पार्टीका नेतासमेत रहेका सामाजिक अभियन्ता तथा वकिल स्वागत नेपालले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिने भएका छन्। यो क्षेत्रमा नेकपा एमालेका नेता अग्नि खरेल चुनाव लड्ने तयारीमा छन्।-नेपाल खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *