October 2, 2026

करणी सम्बन्धी कसुर र सजाय

0

२०७५ साल भदौ १ गतेदेखि भने मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता अलग–अलग कार्यान्वयनमा आएको छ र अलग प्रकृतिका कसुर यी कानूनले अलग–अलग हेर्ने गर्दछ । अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसुर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख गरिएको छ । जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यसरी कानूनले नगर्न भनिएको कुरा गरेमा कुन–कुन अवस्थामा के–कति दण्ड–सजाय हुने भन्ने प्रष्ट गरिएको छ । दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ ।

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद– १८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था गरेको छ ।
२१९. जबर्जस्ती करणी गर्न नहुने :

(१) कसैले जबरजस्ती करणी गर्नुहुँदैन ।
(२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।
(क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,

(ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
(ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने छ ।
(३) जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ :

(क) १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद,
(ख) १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदखि २० वर्षसम्म,
(ग) १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म,
(घ) १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२्र वर्षसम्म,
(ङ) १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म,
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ ।

वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन :

(क) पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको ।
(ख) पतिसँग अंश लिई छुट्टै बसेको ।
(ग) पतिसँग सम्बन्धविच्छेद मुद्दा चलेको ।
(५) उपदफा (४) बमोजिमको अवस्थामा पीडितको निवेदन माग बमोजिम आवश्यक भएमा अदालतले पतिको नाममा

देहाय बमोजिमको आदेश जारी गर्न सक्नेछ :

(क) पत्नीलाई निज बसी आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न लगाउन,
(ख) पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन,
(ग) दुबैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणको लागि आवश्यक व्यवस्था गर्न लगाउन,
(घ) पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यक र उपयुक्त कुरा गर्न गराउन ।

(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफूलाई मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.पोजिटिभ) वा सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाह पाउँँदापाउँँदै कसैले जबरजस्ती करणी गरेको रहेछ भने त्यस्तो कसुरदारलाई उपदफा (३) मा लेखिएको सजायमा देहाय बमोजिमको थप सजाय समेत हुनेछ :

(क) मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी. पोजिटिभ) भएको थाह पाउँदापाउँदै जबरजस्ती करणी भएको भए दफा १०५ बमोजिमको सजाय,

(ख) अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाह पाउँदापाउँदै जबरजस्ती करणी भएको भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना ।

(७) सामुहिक रुपमा जबरजस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ । तर, पूर्ण अशक्त अपाङ्गता भएकी महिला भएमा उपदफा (३) को खण्ड (क) बमोजिमको सजाय हुनेछ ।

(८) कसैले हाडनाताकी महिलालाई जबरजस्ती करणी गरेकोेमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेद बमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ ।

२२०. हाडनातामा करणी गर्न नहुने :

(१) कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानी–जानी त्यस्तो व्यक्तिसँग करणी लिनु दिनुहुँदैन ।

(२) देहायका नातामा उपदफा (१) बमोजिमको कसुर गर्नेलाई देहाय बमोजिम सजाय हुनेछ :

(क) जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणी भएमा जन्मकैद,
(ख) सौतेनी आमा–छोरा वा बाबु–छोरी, सहोदर दिदी–भाइ वा दाज–बहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइ–बुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना,

(ग) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठूलोबाबु वा काका–भतिजी, एकै हाँगाको भतिजो–ठूली–आमा वा काकी, एकै हाँगाको ससुरो–भतिजी बुहारी, साख्यै मामा–भाञ्जी वा भानिज–माइजु, आमा तर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाइँको करणी भएमा तीन वर्षदेखि छ वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म जरिबाना,

(घ) खण्ड (क), (ख) वा (ग) मा लेखिएदेखि बाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्षदेखि तीन वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिबाना ।

२२१. थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेः

(१) कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्न वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाई दिई करणी गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिम करणी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसुर हुने रहेछ भने सो बमोजिमको सजायमा यस दफा बमोजिमको सजाय थप हुनेछ ।

२२२. आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसग करणी गर्न नहुने :

(१) कसैले आफूले संरक्षण वा सुरक्षा दिएको वा आफ्नो हेरविचारमा रहेको कुनै व्यक्तिसँग करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागि उपचार वा पुनस्र्थापना गर्नेे कुनै संस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसुर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ ।

२२३. कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसग करणी गर्न नहुने :

(१) सरकारी वा निजी कार्यालयमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यावसायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलब्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई चार वर्षसम्म कैद र ४० हजार रुपैयाँँसम्म जरिबाना हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसुर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ ।

२२४. यौन दुव्र्यवहार गर्न नहुने :

कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउन हुँदैन । कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी बिना करणीको आशयले समातेमा वा निजको संवेदनशील अंङ छोएमा या छुने प्रयास गरेमा । अश्लील तस्वीर देखाएमा लिखित तथा मौखिक रुपमा दुव्र्यवहार गरेमा यौनको आशयले जिस्काएमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुनेछ ।

२२५. बालयौन दुरुपयोग गर्न नहुने :

कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन । कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा कुनै यौनजन्य अस्वभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुनेछ ।

२२६. अप्राकृतिक मैथुन गर्न नहुने कसैले कसैको मञ्जुरी बिना अप्राकृतिक मैथुन गर्नु वा गराउनुहँुदैन । यसमा बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुनेछ ।

२२७. पशु करणी गर्न नहुने :

कसैले पनि पशु करणी गर्नु वा गराउनुहँुदैन । यस्तो कसुर गर्नेलाई गाईको करणी गरे वा गराएको भए दुई बर्षसम्म कैद र २० हजार जरिवाना र अन्य पशु करणी गरेमा एक बर्ष कैद र दश हजार जरिवाना हुनेछ । दफा २२० अन्तर्गतको कसुरमा जहिलेसुकै पनि उजुरी गर्न सकिन्छ भने दफा २१९, २२१, २२२, २२३, २२४, २२५, र २२६ को कसुरमा त्यस्तो कसुर भएको मितिले एक बर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसुरमा त्यस्तो कसुर भएको थाह भए पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *