April 30, 2026

देशभर १,४१,४६८को उम्मेदवारी झापामा ७२९ पदका लागि २,९१४ जना चुनावी मैदानमा

0

झापा ।

स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले मंगलवार बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश नं. १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनीमा २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ ।

नगरपालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६को उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा तीन हजार ३०६, उपाध्यक्षमा दुई हजार ३४३ र वडाध्यक्षमा ३३ हजार १११ को मनोयन दर्ता भएको छ । २४ हजार २८३ महिला सदस्य, २१ हजार ९७९ महिला दलित सदस्य र ५१ हजार ९२ सदस्यको मनोनयन दर्ता भएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष र वडाअध्यक्ष गरी छ हजार ७ सय ४३, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

यता झापामा १५ पालिका र १३१ वटा वडामा ७२९ पदका लागि २९१४ जना चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्लाको पालिकागत विवरण यस्तो छ–

दमक : यो नगरपालिकामा प्रमुख पदका लागि सबै भन्दा बढी उम्मेदवारी परेको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमकमा मेयर पदका लागि १६ जनाको उम्मेदवारी परेको हो । यता उपाध्यक्ष पदमा भने बुद्धशान्ति गाउँपालिकामा सबैभन्दा धेरैको उम्मेदवारी परेको छ । गाउँपालिकाको उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको हो ।

१५ वटा स्थानीय तहमा एक/एक जना प्रमुख तथा उपप्रमुख पदका लागि मात्रै २३९ जनाको उम्मेदवारी परेको छ । जसमा मेयर/अध्यक्ष पदका लागि मात्रै १३० जना र उपप्रमुख/ उपाध्यक्ष पदका लागि १०९ जनाको उम्मेदवारी परेको छ ।

भद्रपुर : यस नगरपालिकामा प्रमुख पदका लागि ८, उपप्रमुख पदका लागि ७ जनाको उम्मेदवारी परेको छ भने वडाअध्यक्ष पदका लागि ५५ जनाको उम्मेदवारी परेको छ । भद्रपुरमा १० वटा वडा रहेका छन् । त्यस्तै महिला पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ । दलित महिला पदका लागि ४१ जना र सदस्य पदका लागि ९५ गरी २४९ जनाको उम्मेदवारी परेको हो ।

अर्जुनधारा : यस नगरपालिकामा प्रमुख पदका लागि ४ र उपप्रमुख पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष पदका लागि ४६ जनाको उम्मेदवारी परेको हो । महिला पदका लागि ३४ जनाको उम्मेदवारी परेको छ । दलित महिला पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ भने सदस्य पदका लागि ७४ जनाको उम्मेदवारी परेको छ । अर्जुनधारा नगरपालिकामा जम्मा १९४ जनाको उम्मेदवारी परेको हो ।

मेचीनगर नगरपालिका : यस नगरपालिकामा प्रमुख पदका लागि १० र उपप्रमुख पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ८७ जना र महिलामा ५९ जनाको उम्मेदवारी परेको हो । दलित महिला ४४ र खुल्ला सदस्य पदका लागि १२८ गरी ३३६ जनाको उम्मेदवारी परेको हो ।

बिर्तामोड : यस नगरपालिकामा प्रमुख पदका लागि १०, उप्रमुख पदका लागि ९, वडाध्यक्ष पदका लागि ५४ जना र महिला सदस्यका लागि ३७, दलित महिलामा ३१ र खुल्ला सदस्यका लागि ८२ गरी जम्मा २२३ जनाको उम्मेदवारी परेको हो ।

दमक : यस नगरपालिकामा प्रमुख पदका लागि १६ र उपप्रमुख पदका लागि १० जनाको उम्मेदवारी परेको हो । वडाध्यक्ष पदका लागि ४७ , महिला ३१, दलित महिला २६ र खुल्ला सदस्यकालागि ६८ जना गरी १९८ जनाको उम्मेदवारी परेको हो ।

गौरादह : यस नगरपालिकामा ११ जना प्रमुख र ७ जना उपप्रमुख पदका लागि उम्मेदवारी परेको छ । वडाध्यक्ष पदका लागि ४२, महिलामा ३१, दलित महिला २३, खुल्ला सदस्य ६६ गरी जम्मा १८० जनाको उम्मेदवारी परेको हो ।

कनकाई : यस नगरपालिका प्रमुखमा ८, उपप्रमुखमा ८, वडाध्यक्षमा ४३, महिला ३७, दलित महिला ३१, खुल्ला सदस्य ७७ गरी जम्मा २०४ जनाको उम्मेदवारी परेको हो ।

शिवसताक्षी : यस नगरपालिकामा प्रमुख पदका लागि १०, उपप्रमुखमा ६, वडाध्यक्षमा ४९, महिलामा ४५, दलित महिला ३७ र खुल्ला सदस्य ९३ गरी २४० जनाको उम्मेदवारी परेको हो ।

झापा गाउँपालिका : यस गाउँपालिकामा अध्यक्ष पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ भने वडाध्यक्ष पदका लागि ४७ , महिलामा २८, दलित महिलामा २४, खुल्ला सदस्यमा ६१ जना गरी जम्मा १७४ जनाको उम्मेदवारी परेको हो ।

कचनकवल गाउँपालिका : यस गाउँपालिकामा अध्यक्षका लागि १० र उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा ४१, महिलामा २९, दलित महिलामा २३ र खुल्ला सदस्यमा ६८ गरी १७७ जनाको उम्मेदवारी परेको हो ।

हल्दिवारी गाउँपालिकाः यस गाउँपालिकामा अध्यक्षमा ४, उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २२, महिलातर्फ २०, दलित महिलातर्फ १९, सदस्य खुल्लातर्फ ४४ गरी जम्मा ११५ जनाको उम्मेदवारी परेको छ ।

गौरीगञ्ज गाउँपालिका : यस गाउँपालिकामा अध्यक्षमा ७ र उपाध्यक्षमा ७ जनाकै उम्मेदवारी परेको छ । वडाध्यक्ष पदका लागि ४०, महिला सदस्यका लागि ३२, दलित महिलामा २९, खुल्ला सदस्यमा ५३ जना गरी १८४ जनाको उम्मेदवारी परेको छ ।

बाह्रदशी गाउँपालिका : यस गाउँपालिकामा अध्यक्ष पदका लागि १० र उपाध्यक्ष पदका लागि ५, वडाध्यक्ष ३२, महिला सदस्य २५, दलित महिला २१ र खुल्ला सदस्य ५३ गरी १४६ जनाको उम्मेदवारी परेको छ ।

वुद्धशान्ति गाउँपालिकाः यस गाउँपालिकामा अध्यक्षमा ७ र उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष पदका लागि भने ३९, महिलामा २५, दलित महिलामा १९ र खुल्ला सदस्य ५३ गरी जम्मा १५४ जनाको उम्मेदवारी परेको छ ।

कमल गाउँपालिकाः यस गाउँपालिकामा अध्यक्ष पदका लागि ७, उपाध्यक्षमा ८, वडाध्यक्षमा ३२, महिला सदस्य २४, दलित महिलामा २२ र खुल्ला सदस्यमा ४७ गरी १४० जनाको उम्मेदवारी परेको छ ।

मंगलवार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका थियो । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *