ब्रेक द बायस : पक्षपातको अन्त्य !

महिला बिनाको मानवीय समाज ! या भनौं नारी बिनाको पुरुष अस्तित्व कल्पनाभन्दा पनि बाहिरको कल्पना हुन सक्छ । नारी जनशक्ति जबसम्म छन् यो सृष्टि, प्रकृति, धर्ती र समृद्धि तबसम्म मात्र अस्तित्वमा रहनेछ । नर र नारी दुबै हुन यस ब्रह्माण्डमा हर जीवआत्मालाई स्वरुप दिएर अस्तित्वमा ल्याउन सक्षम महान शक्तिहरु । सृष्टि , प्रकृति र सूक्ष्म अलौकिक शक्तिले नर र नारीमा कहिले भिन्नता देखेन । तर, हामी मानव जातिमा कसले को¥यो त यति लामो लक्ष्मणरेखा ? कसरी खडा भयो एकअर्काको बीचमा हिंसा, आतंक, अपमान, हेला र पक्षपातको यति अग्लो पहाड । सबै पाएर पनि किन पाएनन् त महिलाले पुरुषसरहको त्यो मानव अधिकार ? कहिले पाउने हो हामी महिलाले समानतामूलक र विभेदमुक्त समाज । पहिलो दर्जाको नागरिक र स्वतन्त्र मानवीय अस्तित्वबाट किन वञ्चित गरियो त महिलालाई ?
केही दिन अगाडि मात्र ११२औं अन्तर्राष्ट्रिय महिला दिवस सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया जस्ता अनेकौं कार्यक्रमहरु गरेर मनाइयो । सदियौंदेखिको महिला हक, अधिकार, समानता र स्वतन्त्रताको क्षेत्रमा भएका उपलब्धि, संघर्ष र चुनौतिहरुलाई स्मरण र सम्मान गर्दै आगामी दिनका लागि रणनीति तयार पारिने दिन हो महिला दिवस । यसै सन्दर्भमा महिला जनशक्तिका विषयमा लेखिएका धेरै लेख, रचना र सामग्री हाम्रो स्थानीय मिडिया मार्फत पनि सुन्न, देख्न र पढ्न पाइए तापनि हाल अति चर्चित एक विषयवस्तुलाई समेटिएको केही सामग्री मेरो नजरमा परेन । अन्ततः एउटा लेख लेख्ने जमर्को गरे । बिषयवस्तु हो– यस बर्ष संयुक्त राष्ट्र संघद्वारा उद्घोषित अन्तर्राष्ट्रिय महिला दिवसको थिम– ब्रेक द बायस ः पक्षपातको अन्त्य !
पक्षपात एक यस्तो अवस्था हो जहाँ कुनै एक व्यक्ति, वस्तु या विचारको तुलनामा उसको सामीप्यमा हुने व्यक्ति, वस्तु या विचारलाई कम प्राथमिकता दिइन्छ । चाहे त्यो दोस्रो व्यक्ति, वस्तु या विचार अघिल्लोभन्दा उत्कृष्ट नै किन नहोस् । एक पक्षको पक्षपात पूर्ण दृष्टिकोण र व्यवहारका कारण अर्को पक्षलाई उसको नैसर्गिक हक–अधिकार र अवसर समेत गुमाउन बाध्य बनाइन्छ । मानवीय मस्तिष्कमा सदियौंदेखि लुकेर रहेको अनेकौं विचार र उदाहरणहरुले उसलाई पक्षपात गर्न र पक्षपात सहन उत्प्रेरणा दिइरहेको हुन्छ । जानेर होस् या अञ्जानमा, प्रत्यक्ष होस् या अप्रत्यक्ष हाम्रा वरपर भइरहेका ती शारीरिक, शाब्दिक या वैचारिक पक्षपातहरुलाई जरैदेखि निर्मूल पारौं भन्ने अवधारणा नै ब्रेक द बायस या पक्षपात को अन्त्य हो ।

चेतन पक्षपात र अवचेतन पक्षपात दुबै स्वरुपमा हामीद्वारा पक्षपातको घटनाहरु दोहोरिरहेको हुन्छ । जसले परिवार, समाज र राष्ट्रमा असमानताको ठूलो पर्खाल खडा गराउन टेवा प्रदान गर्दछ । पक्षपात जातीय, वर्गीय, लैङ्गिक, धार्मिक, भौगोलिक, आर्थिक, शारीरिक या सामाजिक जुनै प्रवृत्तिको हुनसक्छ । जसमा मौखिक रुपमा ठूलो मानिएकोले सानो मानिएको प्रति हेला, अपमान र असमानताको दृष्टिकोण राख्दछ । हाम्रो समाज, परिवार, विद्यालय, समुदाय, धर्मग्रन्थहरु र मौखिक किम्वदन्तीहरुले नै कारकतत्व बनेर पक्षपात जस्तो अपराधलाई सत्य र न्यायसंगत प्रमाणित गरिरहेको पाइन्छ । जसमा प्रमुख छ– लैङ्गिक विभेद । जुन महिला माथि हुने विभेदपूर्ण व्यवहार र अपमानजनक दृष्टिकोण हो ।
स्पष्टरुपमा निसंन्देह महिला माथि हुँदै आइरहेका ती सबै अपमान, हिंसा, शोषण र असमानता नै चेतन पक्षपातको परकाष्टा हुन् । हाम्रो धर्मशास्त्र, नीतिशास्त्र, दर्शनशास्त्र र परिवारशास्त्रद्वारा जन्मेदेखि मृत्युसम्म प्राप्त निर्देशनका कारण महिलालाई महिला भएकै कारण शारीरिक, मानसिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिक रुपमा पुरुषभन्दा कमजोर देखाउने प्रवृत्ति नै अवचेतन पक्षपात हो । जानेर या अञ्जानमा हरेक महिलाहरुलाई पक्षपात र विभेद सहन समाजका हरेक पक्षद्वारा बाध्य पारिन्छ । भर्खर जन्मदै गरेको बच्चालाई केही ज्ञात नभए पनि परिवार, समाज र समुदायको नीतिनियम, अर्ति उपदेश र मान–मर्यादाका पाठहरु सिकाउँदै जाने क्रममा छोरा र छोरीबीचमा असमानताको भू–मध्यरेखा रेखांकित गरिन्छ । जसलाई पार गरेर एक्लैअघि बढ्नु असम्भव जत्तिकै छ ।
इजरायली लेखक प्रोफेसर डा. युबाल नोहा हरारीको पुस्तक ‘सेपियन्स ः द ब्रिफ हिस्ट्री अफ ह्युमन काइन्ड’मा मानव सभ्यताको उद्भव, विकास र विकासक्रम देखाउने क्रममा उल्लेख गरिएको छ कि ‘आदिमकालमा मानव प्रजातिको जंगली युग थियो, जतिबेला घातक वन्यजन्तुको शिकार गरेर घुमन्ते जीवन व्यतीत गरिन्थ्यो । अति चुनौतिपूर्ण र संघर्षदायी ती युगका महिलाहरु पुरुषसरह हर चुनौति र कठिनाइको सामना गर्न सक्षम थिए । किनकि त्यो युगमा महिला–पुरुषको भूमिका, कर्तव्य, अधिकार र जिम्मेवारी घरभित्र र बाहिर समान थियो ।’ मानव सभ्यताको शुरुवाती बिन्दुदेखि नै प्रतिकूल वस्तु, समय र परिस्थितिहरुसँग बराबरी जुधेर हामी अघि बढ्दै गयौं । तर, ढुङ्गेयुग, कृषियुग, औद्योगिकयुग हुँदै आजको विज्ञान प्रविधिको युगसम्मको यात्रा तय गर्दैगर्दा कसरी महिला र पुरुषबीच असमानताको यो खाडल खनिन पुग्यो ?
महिला माथि जानेर र अञ्जानमा हुने गरेको पक्षपातको बिषयमा संयुक्त राष्ट्रसंघ महिला आयोगद्वारा केही भिडियो सार्वजनिक गरिएको सन्दर्भ जोड्न चाहन्छु । बौद्धिक व्यक्तित्वहरु बीच भइरहेको एक अन्तरक्रियामा एउटा प्रश्न सोधिएको छ– ‘बाबा–छोरा छन् घरमा । छोराको सिइओको अन्तरवार्ता छ । बाबा कार लिएर बाहिर निस्कन्छन् । छोरा अन्तरवार्ताको लागि कारमा चढ्नै लागेको हुन्छ उसले अघिल्लो अन्तरवार्ता दिएको बहुर्राष्ट्रिय कम्पनीबाट उसलाई सिइओको फोन आउँछ । फोनमा भनिन्छ– ‘छोरा तिम्रो सिइओको जागिर पक्का भयो । आजबाट तिमी यस कम्पनीको सहायक सिइओ भयौ । बधाई छ ! भोलिदेखि सेवा शुरु गर्नु !’ प्रश्न छ– ‘जबकी बाबा–छोरा साथमा नै छन् भने उसलाई छोरा भनेर कम्पनीको सिइओद्वारा कुन अर्थमा सम्बोधन गरियो ?’
अन्तरक्रियामा उपस्थित सबैले आ–आफ्नो अनुमानित प्रतिक्रिया दिए, तर कसैको मस्तिष्कले यो अनुमान लगाउन सकेन कि त्यो कम्पनीको सिइओ उसको आमा थिइन् । महिला या आमा कुनै बहुर्राष्ट्रिय कम्पनीको प्रमुख हुन सक्छन् या उच्च ओहोदा सम्हाल्न सक्छन् यति सत्य स्वीकार्न हाम्रो मस्तिष्क अझै विकसित भइसकेको छैन । यसै सन्दर्भमा ‘प्राथमिक बिद्यालयमा पढ्ने १० जना केटाकेटीलाई कक्षामा राखी एउटा प्रोजेक्ट तयार गर्न लगाइन्छ । प्रत्येकले कुनै जागीर या काम गर्दै गरेको महिला या पुरुषको चित्र स्पष्ट बुझिने गरी बनाउनुपर्ने हुन्छ । आधा घण्टापछि नतिजा सार्वजनिक गरिन्छ । जसमा नर्स, शिक्षिका र कुक जस्ता काममा महिलालाई प्रतिबिम्बित गरिएको हुन्छ । जब कि डाक्टर, इञ्जिनियर, लडाकु, पाइलट, ड्राइभर, अन्तरीक्षयात्री जस्ता काम गर्दै गरेको तस्वीरले पुरुष प्रतिनिधित्व दर्शाउछ ।
हेर्दा सामान्य लाग्न सक्ने यो सानो परीक्षणले स्पष्टीकरण दिइरहेको छ कि कसरी महिला र पुरुषको अलग–अलग भूमिका र सीमारेखाले बाल मस्तिष्कसम्म जकडिएको छ । कठिन, संवेदनशील र चुनौतिपूर्ण काम पुरुषले मात्र गर्न सक्छन् भन्ने भ्रमले आजसम्म हाम्रो दिमाग भरिएको छ । जब कि महिला पनि यी सबै क्षेत्रमा अब्बल भइसकेको यथार्थ हामीसामु छर्लङ्ग छ । हाम्रो समाज, सामाजिक संरचनाहरु, सामाजिक मूल्य–मान्यताहरु र हामीले अनुशरण गर्दै आइरहेको धार्मिक ग्रन्थहरु महिलामैत्री नहुनाले महिला हकअधिकारको आवाजहरु घरपरिवार र समाजभित्रै दबिएका छन् । हिंसा र विभेदका घटना दिनहँु आकाशिँदै गए पनि हाम्रो पितृसतात्मक समाज र शक्तिशाली राजनीतिज्ञको कठपुतली कानून भएकोले न्याय र समानताका मुद्दाहरु कागजमा नै धमिलिएका छन् ।
पक्षपातको अन्त्य, हिंसामुक्त वातावरण निर्माण र समाज रुपान्तरण गर्न पुरुषको सहभागिता अपरिहार्य अंग हो । महिलाले अधिकार पाउनु भनेको पुरुष दाजुभाइको अधिकार खोस्नु भन्ने पनि होइन । न त नारी सशक्त छन् पुरुषहरु अशक्त छन् भन्नु नै हो । समाज भन्नु नै महिला र पुरुष हो । परिवारको आधा अंश पीडित, अपमानित, डरपोक, शोषित र कमजोर हुँदै गर्दा अर्को आधा हिस्साको स्वतन्त्रता, सफलता र समृद्धि सम्भव छ भन्नु नै असम्भव छ जस्तो लाग्छ । मानव सभ्यताको विकासक्रमसँगै समाज रुपान्तरणतर्फ नर र नारी दुवैको भूमिका समान भएको इतिहास साक्षी छ । समाजलाई समृद्ध, उत्तर आधुनिक, प्राविधिक र व्यवस्थित बनाउनमा योगदान त महिलाको पनि उत्तिकै छ । तर, आजसम्म हामिले आफ्नै समाजमा हक, सुरक्षा र समानताको लडाइँ लडिनै रहनु परेको छ । दोस्रो दर्जाको मानवीय अस्तित्व आखिर कहिलेसम्म स्वीकार गर्ने होला ।
त्यसो त कति हदसम्म हामी महिला नै महिलाको दुश्मन या प्रतिद्वन्द्वी हौं भन्दा गलत नहोला । सासू, बुहारी, नन्द, देउरानी, जेठानी साथी या सहकर्मी कुनै न कुनै रुपमा एक महिलाले अर्को महिला माथि विभेदजन्य व्यवहार, दृष्टिकोण या प्रतिक्रिया प्रस्तुत गरी नै रहने उदाहरण प्रशस्त देख्न पाइन्छ । एउटा रिपोर्ट केही समयअघि प्रकाशित गरिएको थियो । जसमा दैनिक दर्ता हुने महिला हिंसा र पक्षपातको २०÷२५% घटनाहरुको जिम्मेवार र कारकतत्व केवल महिला नै भएको पाइएको छ । यदि हर महिलाले अन्य महिला माथि सम्मानजनक र प्रेरणादायी व्यवहार गर्नु हो भने पनि लैङ्गिक हिंसा आफै न्यूनीकरण हुने देखिन्छ । परिवार, समाज, समुदाय, राष्ट्र या पूरा विश्वको कुना–कुनामा छन् महिला ! महिला माथि हुने हत्या, हिंसा, पक्षपात र शोषणविरुद्ध हर महिलाले आ–आफ्नो ठाउँबाट बलियो आवाज उठाउन सक्नुपर्दछ । जसबाट सम्बन्धित पक्षहरुलाई महिलामैत्री कानून निर्माण गर्न दबाब दिन सकौं । जागरुक बनौं । सचेत र सुरक्षित बनौं ।
न त महिला बिनाको मानव अस्तित्व सम्भव छ । न त पक्षपात या हिंसा अस्तित्वमा रहेसम्म सभ्य समाजको परिकल्पना सम्भव छ । नारीहरु योग्य, दक्ष, प्रशन्न, आत्मविश्वासी र आत्मनिर्भर हुनु नै समाज सभ्य, शान्त, समृद्ध, मानवीय र नैतिक हुनु हो । सकारात्मक सुधारतर्फ समाज रुपान्तरण हुनु महिला र पुरुष दुबैलाई उत्तिकै फाइदा मिल्नु हो । आफ्नो हक, अधिकार, न्याय र समानताको लडाइँमा हामी महिला एकजुट भएमात्र स्वतन्त्रता, गौरव र समृद्धिको सानो सपना पूरा हुन सक्ला । साथमा पुरुष सदस्यहरुको साथ र सहयोग अति आवश्यक छ । नारी–पुरुष दुबैले दृढसंकल्प गर्नु हो भने परिवार, समाज, समुदाय र राष्ट्र गर्दै पूरा विश्वको इतिहास बदल्न असम्भव छैन । आजैदेखि कदम चालौ हरेक पक्षपात अन्त्यको लागि । केही प्रयास आफू गरौं, केही कोशिस अरुलाई गराऔं । नारी–पुरुष एक आवाज बनौं । लैङ्गिक विभेद निर्मूल पारौं । पक्षपातरहीत समाज निर्माण गरौं ।
