September 16, 2026

दुई दिनभित्र आक्रमणकारी पक्राउ गर्ने सहमतिपछि झिलझिलेको अवरुद्ध सडक खुल्यो

0

विनोद सापकोटा,
झापा ।

सांघातिक हमलाका दोषीलाई दुई दिन भित्र पक्राउ गर्ने सहमति भएसंगै बिहानदेखि अवद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।

सांघातिक हमलाका दोषीलाई पक्राउ गरेर छोडिदिएको विषयले उग्ररूप लिएपछि बिहीबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा पीडितले राजमार्ग ठप्प पारेका थिए । इलाका प्रहरी कार्यालय झिलझिले अगाडि प्रहरीविरूद्ध नाराबाजी गर्दै पीडित, उनीहरूका आफन्त र सयौं स्थानीयले सडक अवरूद्ध बनाएका थिए ।

दिउँसो साढे १२ बजेदेखि अवरूद्ध भएको २ बजे खुलेको हो । दुइ दिनभित्र पीडकलार्इ पक्राउ गर्न प्रहरीले ग्यारेन्टी गरेपछि सडक खुलेको स्थानिय विनोद ढकालले बताए । गन्तव्य र काम विशेषले हिँडेका हजारौं सर्वसाधारण राजमार्गमा अलपत्र भएका थिए। उनीहरूले प्रशासनसँग तत्काल सडक खोल्न दबाब दिएकाले पनि अवरूद्द सडक संचालन हुन बल पुगेको हो ।

पक्राउ परेका आक्रमणकारीलाई प्रहरीले बिना सर्त छोडेर कारबाही नगरेको आरोप पीडितको छ। पीडितका अनुसार इलाका प्रहरी कार्यालयले सुरूमा जाहेरी लिन समेत मानेको थिएन। ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी दिँदा समेत प्रहरीले जाहेरी दर्ता नगरेर आफूहरूलाई मानसिक पीडा दिएको आरोप पीडित पक्षको छ।

गएको फागुन २७ गते बिहान दिव्या बाँस्कोटा, जानुका ढकाल, भेषराज ढकाल र तेजस्विनी बाँसकोटामाथि सांघातिक हमला भएको थियो। हमलाबाट घाइते दिव्या बाँस्कोटा, जानुका ढकाल र भेषराज ढकाल अस्पताल भर्ना भएका थिए। विर्तामोडको बिएण्डसी अस्पतालमा उनीहरूको उपचार भएको थियो। पीडितका अनुसार दुई लाख ६९ हजार रुपैयाँ उपचारमा खर्च भएको छ।

सांघातिक हमला भएपछि प्रहरीले हमला गर्नेहरूलाई पक्राउ गरेर लगे पनि सोही दिन रिहा गरेको थियो। इलाका प्रहरी कार्यालय झिलझिलेमा ज्यान मार्ने उद्योगमा जाहेरी दिँदा प्रहरीले लिन नमानेको आरोप पीडितको छ। निकै दबाब दिएपछि एकदिन ढिला गरेर प्रहरीले बुझेको पीडित तेजस्वीले बताइन्।

सांघातिक आक्रमण गर्ने युवराज खरेल, कुशल खरेल, अजय बाँस्कोटा, कल्पना खरेल र चैतकुमारी खरेलमाथि ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी दिएको पीडित तेजस्विनी बाँस्कोटाले बताइन्। जाहेरी प्रहरीले बुझ्दा प्रहरी नियन्त्रणमा रहेका एक जना र अन्य सबै फरार भइसकेको उनले बताइन्।

प्रहरीले फागुन २९ गते जाहेरी दर्ता गरेको थियो। जाहेरीउपर अझैसम्म कारबाही नभएको पीडितको गुनासो छ। राजनीतिक संरक्षणका कारण गाउँमै रहेका दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको उनले गुनासो गरिन्। आफूहरूलाई प्रहरी प्रशासनदेखि जनप्रतिनिधिहरूले समेत साथ नदिएको उनको गुनासो छ।

बाटोको विषयमा विवाद भएको थियो। त्यही विवादका क्रममा तेजस्विनीको परिवारमाथि हमला भएको थियो। घटना भएको दिन पक्राउ पर्दा आरोपितहरूलाई वडाध्यक्ष सुवास राईले जमानीमा रिहा गराएका थिए। तर, उनले ती आरोपितहरूलाई प्रहरीको जिम्मा लगाएका छैनन्।

आफूले दुई जनालाई जमानीमा रिहा गराएको स्वीकार गर्दै वडाध्यक्ष राईले आरोपितहरूलाई आफूले इलाका प्रहरी कार्यालय जान भनेको जानकारी दिए।

उनले ती आरोपितहरूसँग आफ्नो सम्पर्क भइरहेको बताउँदै केही दिनभित्र प्रहरीकहाँ उपस्थित हुने जानकारी दिए। तर, प्रहरीले भने ती आरोपित बेपत्ता रहेको बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *