दुई देशबीचको पर्यटन क्षेत्रहरुको प्रबद्र्धन गर्न ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’

पूर्वमा छिमेकी पालिका सूर्योदय नगरपालिका–५ सुङतुङसँगको सीमानामा उत्तर बाट दक्षिणतर्फ बगेको सिद्धी नदी र छिमेकी राष्ट्र भारतको पश्चिम बंगाल राज्यको सीमानामा नागबेली शैलीमा दक्षिणतर्फ बग्ने मेची नदीको दोभान, दोभानको मध्य भागमा प्रशिद्ध धार्मिक तीर्थस्थल सिद्धीदेवी देवीथान, वरिपरी विभिन्न प्रजातिका रुखहरु, प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि उपयुक्त गन्तव्य स्थल हुनेछ इलाम जिल्लाको दक्षिणी भेगमा रहेको रोङ गाँउपालिका–६स्थित सलकपुर अन्तिम प्वाइन्टमा हाल निर्माण भइरहेको ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’ ।

देशको पूर्वी प्रवेशद्वारकोरुपमा रहेको व्यापारिक केन्द्र काँकडभिट्टादेखि २९ किलोमिटर उत्तर र रोङ–६को मुख्य पर्यटकीय स्थलको पहिचान बनाउन सफल ‘झण्डी डाँडा’ देखि अनुमानित आठ किलोमिटरको दक्षिणमा रहेको ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’ योजना सम्पन्न भएपछी स्थानीयस्तरमा बसोबास गर्ने दुवै देशका नागरिकहरुको लागि पर्यटन क्षेत्रको माध्यमबाट आर्थिकरुपमा जीवनस्तर उकास्दै समाज, समुदाय र संस्कृती बुझ्न सहज हुने गाँउपालिकाका प्रवक्ता एवम् स्थानीय वडाध्यक्ष मनिकुमार स्याङबो ‘सुवास’ बताउँछन् ।

दोभानदेखि केही पर भारततर्फ सौरेनी कोरिडोर अन्र्तगत खर्बनीमा रहेको तीन सय मिटर अग्लो ‘असले झरना’सम्म घुम्न आउने पर्यटकहरुलाई पर्यटन प्याकेज अन्र्तगत ‘ब्यूटी बोर्डर सिद्धी–मेची दोभान’ हुँदै महाभारतकालिन इतिहाससँगै जोडिएको भीमसेन ढुङ्गा–सूर्योदयको दृश्य देख्न सकिने गुर्दुम डाँडा–झण्डी डाँडा हुँदै कन्याम सम्म पु¥याउने लक्ष्य रहेको प्रवक्ता स्याङबोले जानकारी दिए । बा¥है महिना देख्न सकिने ‘असले झरना’ भारतीय भूभागमा रहे पनि त्यसलाई नेपालको भूभागबाट मात्र हेर्न सकिने उनले दावी गरे ।
वडाध्यक्ष स्याङबोका अनुसार ५० हेक्टर क्षेत्रफलको जमिनमा चालु आर्थिक वर्ष ०७८/०७९मा गाँउपालिकाबाट विनियोजन भएको पाँच लाख रुपैयाँबाट योजना निर्माण कार्य सुरु भइरहेको छ । हाल उक्त योजना अन्र्तगत हावा घर, पदमार्ग, बगैंचा, रंगरोगन, वनभोज स्थललगायतको निर्माण कार्य भइरहेको छ । त्यसैगरी संघको बजेटबाट सिद्धी नदीमा रोङको सलकपुर अन्तिम प्वाइन्ट र सूर्योदयको सुङतुङ जोड्ने २९४ मिटर लामो झोलुङ्गे निर्माणको कार्य पनि भइरहेको छ ।

आगामी दिनमा उक्त दोभानमा बीच भलिबल, सावर बाथिङ, स्वीमिङ पुल, फिसिङ जोन सहितको रेष्टुरेन्ट आदि निर्माण गर्ने लक्ष्य रहेको वडाध्यक्ष स्याङबोले जानकारी दिए । त्यसको लागि सलकपुर क्षेत्रमा पर्यटकहरुको लागि जसकेलो सामुदायिक होमस्टे अन्र्तगत सुविधा सम्पन्न होमस्टे सञ्चालनमा रहेको छ ।
त्यसैगरी त्यहाँ सिद्धीदेवी देवीथान रहेको हुँदा उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके त्यसले विश्वभरका धार्मिक पर्यटकहरुको लागि आकर्षणको विषय हुने स्थानीय मातृका राईले बताए । भारतीय गोर्खाल्यान्ड आन्दोलनका संस्थापक नेता सुवास घिसिङले तत्कालिन् समयमा आन्दोलन सुरु गर्न भन्दा पहिले पूजाअर्चना गर्न आएको उक्त देवीथान दुवै नदीमा आएको बाढीले समेत बगाउन नसकेको आफूले बाबु–बाजेबाट सुनेको उनले बताए ।

स्थानीयहरुका अनुसार उक्त देवीथानमा वर्षमा एकपटक वैशाखे पूर्णीमा वा पञ्चमीको दिन लामा गुरुबाट विधिपूर्वक पूजाअर्चना हुने गरेको छ ।
प्रस्तुतीः अमित खम्बू
