September 20, 2026

सुपारी खेतीमा आकर्षण

0

झापा ।

झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो । देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत झापामा उत्पादन हुन्छ । सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् ।

संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्याक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत सिञ्चाइ, गोदामघरदेखि प्रशोधन समेतमा अनुदान दिन थालेपछि किसानहरू खेतीमा आकार्षित हुँदै गएका हुन् । सुपारी जोन कार्याक्रमले पूर्वी नेपालमा बर्सेनि सुपारी खेती विस्तार हुँदै गएको छ ।

झापामा दुई हजार ७२१ हेक्टर क्षेत्रफलमा सुपारी उत्पादन हुँदै आएको छ । जसमा दश हजार ३ सय ३९ दशमलव ८ मेट्रिक्टन सुपारी उत्पादन हुँदै आएको ज्ञानकेन्द्रले जनाएको छ । विगतमा आफ्नै बलबुताले खेती गर्दै आएका किसानलाई सरकारले सहयोग गरेपछि उत्साहित भएका हुन् । सुपारीजोन कार्यक्रमले यस वर्ष प्रशोधन र टपरी निर्माणमा अनुदान उपलब्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोनका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार सुपारीको पातबाट दुना, टपरी बनाएर कृषकले राम्रो आम्दानी गर्नसक्छन् । जोनले टपरी, दुना निर्माण गर्ने मेसिनमा अनुदान दिएपछि विगतमा त्यसै खेर जाने सुपारीको पात अहिले प्रयोगमा आएका हुन् ।

सुपारी सम्बन्धी विज्ञ, कृषि प्राविधिकको अभाव रहेकाले विभिन्न तालिम र प्रशिक्षण समेत दिँदै आइएको छ । चार वर्षदेखि सञ्चालन भएको सुपारीजोन कार्यक्रमले धेरै सहयोग गरेकाले खेती थप विस्तार गर्दै लगेको अर्जुनधारा–९का किसान दिनबन्धु पोखरेलले बताए । ‘पहिला हाम्रो तरिकाले खेती गर्दै आएका थियौँ, अहिले राज्यले पनि सहयोग गरेपछि धेरै सहज भएको छ’– उनले भने– ‘अहिले क्रमशः खेतीको पनि विस्तार हुँदै आएको छ ।’

सुपारी खेती विस्तारसँगै पछिल्लो समय काँचो सुपारीको मूल्य समेत बढ्दै गएको छ । तीन वर्षअघि २५देखि ३० रुपैयाँ प्रतिकेजी बिक्री हुने काँचो सुपारीको मूल्य पछिल्लो समय ५०देखि ७० रुपैयाँ प्रतिकेजीसम्म पुगेको लामो समयदेखि अर्जुनधारा नगरपालिका क्षेत्रमा सुपारीको व्यवसाय गर्दै आएका रघुनाथ गुप्ताले बताए । सुपारीको मूल्यमा समेत सुधार आएकाले कृषकले उत्साहित भएर खेती गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *