नेपालको जलसम्पदा : स्थिति र महत्व

कुनै पनि देशको भू–धरातलमा विद्यमान ताल, नदी, कुवा, भूमिगत जल आदिको समष्टिलाई जलसम्पदा भनिन्छ । जल सम्पदाले पृथ्वीको सतह र सतहभित्र पाइने जलको समष्टिगत स्वरुप भन्ने पनि बुझिन्छ । नेपाल जल सम्पदाको दृष्टिले विश्वकै दोस्रो र एसिया महादेशको पहिलो धनी राष्ट्रको रुपमा चिनिन्छ । नेपालको कूल जलभण्डार क्षमता दुई लाख दुई हजार मिलियन क्युविक मिटर रहेको छ । उत्तर दक्षिण पहाडी ढालका कारण प्रायः दक्षिणतर्फ बग्ने झण्डै छ हजारभन्दा बढी नदिनालाहरु नेपालमा छन् भने ११ किमिभन्दा लामा नदी करिब एक हजार वटा र एक सय ६० किमिभन्दा लामो करिब एक सय नदीहरु नेपालमा पर्दछन् । नेपालमा साना–ठूला गरी करिब पाँच हजार तीन सय ५८ वटा तालहरु र दुई हजार तीन सय २३ वटा हिमतालहरु रहेका छन् । नेपालमा साना–ठूला गरी पाँच हजार तीन सयभन्दा बढी सिमसार क्षेत्रहरु रहेका छन् भने १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीबद्ध गरिएको छ । नेपालमा बग्ने नदीहरुको जलविद्युत उत्पादन क्षमता ८३००० मेगावाट रहेको अध्ययनले देखाए तापनि आर्थिक तथा प्राविधिक दृष्टिकोणले यहाँ बग्ने नदीबाट ४२००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने देखिएको छ । नेपालको १५औं योजना अनुसार नेपालमा उत्पादित जलविद्युत उत्पादन १०२० मेगावाट रहेको छ भने यसलाई ५००० मेगावाट पु¥याउने लक्ष्य राखिएको छ । नेपालभर बग्ने नदीनालाहरुको कूल सरदर लम्बाई ४५ हजार किमि रहेको छ जसले कूल भू–भागको २.९ प्रतिशत क्षेत्रफल ओगटेको छ भने १७ लाख ६६ हजार हेक्टर भूमिमा सिँचाई गर्न सकिन्छ ।
नेपालमा बग्ने छ हजारभन्दा बढी नदीनालाहरुलाई तिनीहरुको उदगमस्थल, स्थायित्व, पानीको बहाव क्षमता आदिको आधारमा तीन स्तरमा विभाजन गरिएको छ । जसमा पहिलो स्तरका नदी नेपालको उत्तरमा फैलिएका उच्च हिमाली पर्वत श्रृंखलामा रहेका हिउँ पग्लिएर उत्पत्ति भई उटुटरुपमा उत्तरबाट दक्षिणतर्फ बग्ने ठूला र लामा स्तरका नदीहरुलाई प्रथम स्थरका नदीहरु भनिन्छ । सप्तकोशी, सप्तगण्डकी, कर्णाली नदीका सहायक नदीहरु यस अन्तर्गत पर्दछन् । जसले नेपालको कूल जलसम्पदाको करिब ७४ प्रतिशत हिस्सा ओगट्दछ । पहिलो स्तरका नदीहरु आर्थिक, धार्मिक, सांस्कृतिक एवम् पर्यावरणीय दृष्टिकोणले अति नै महत्वपूर्ण छन् । महाभारत पर्वत श्रेणीबाट उत्पति भई बग्ने मध्यम दूरी र आकारका नदीहरुलाई दोस्रो स्तरका नदीहरु भनिन्छ ।
यस्ता नदीहरु हिउँदमा सानो र बर्षातमा भेल बाढीसहित बग्ने गर्दछन् । मेची, त्रियुगा, कमला, बाग्मती, कन्काई, राप्ती, बबई, तिलाउ, मोहना आदि यस अन्तर्गत पर्दछन् । यस प्रकारका नदीहरु सिँचाई विद्युत उत्पादन लगायतका दृष्टिले बढी उपयोगी मानिन्छन् । चुरेपर्वत तथा भावरको माथिल्लो भागबाट उत्पत्ति भई बग्ने छोटो दूरीका नदीहरुलाई तेस्रो स्तरका नदीहरु भनिन्छ । यस्ता नदीहरु वर्षातमा ठूलो रुप लिने र हिउँदमा सुक्ने गर्दछन् । त्यसैले तेस्रो स्तरका नदीहरुलाई मनसुनी अस्थायी नदीहरु पनि भनिन्छ । निर्माण सामग्रीका स्रोतहरुको संकलन गर्ने तथा वर्षायाममा सिँचाई गर्ने दृष्टिकोणले यिनीहरुको महत्व रहेको छ भने ठूलो क्षेत्र ओगट्ने तथा कृषि भूमिमा क्षति पु¥याउने भएकोले तेस्रो स्तरका नदीहरुको फाइदाभन्दा बेफाइदा बढी रहेको छ । सिर्सिया, डुण्डुवा, तिलावे, मनुमसारा, हर्दिनाथ, रतुवा, अर्जुन खोला जस्ता नदीहरु यस स्तरका नदीहरुमा पर्दछन् ।
त्यस्तैगरी नेपाललाई नदीका आधारमा तीन भागमा विभाजन गरिएको छ । जसलाई कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश भनि विभाजन गरिएको छ । पूर्वमा कञ्चनजंघादेखि पश्चिममा लामटाङ हिमालसम्म सप्तकोशीको बहाव क्षेत्र रहेको छ जसलाई कोशी प्रदेश समेत भन्ने गरिन्छ । यो नेपालको सबैभन्दा ठूलो नदी तथा विश्वको बढी बालुवा बोक्ने दोस्रो ठूलो नदी हो । जसको नामकरण कौशिक ऋषिको नामबाट भएको हो । यसका सहायक नदीहरुमा तमोर, अरुण, दूधकोशी, लिखू, तामाकोशी, सुनकोशी र इन्द्रावती पर्दछन् । सप्तकोशीका बहाव क्षेत्रभित्र विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमाल मध्ये पाँच वटा हिमशिखरहरु सगरमाथा, कञ्चनजंघा, ल्होत्से, चोयु, मकालु पर्दछन् भने पवित्र धार्मिकस्थल बराह क्षेत्र, हलेशी महादेव तथा विश्वकै होचो उपत्यका अरुण उपत्यका समेत यसै क्षेत्रभित्र अवस्थित छन् । यसलाई भारतमा दामोदर नदी तथा विहारका दुःखका नामले समेत चिनिने गरिन्छ भने कोशी नदी भारतमा विहारको करसेलामा गई गंगा नदीमा मिसिन्छ । यस नदीको विद्युत उत्पादन क्षमता २२००० मेगावाट रहेको छ भने औषत जलप्रवाह एक हजार पाँच सय ६४ घनमिटर प्रतिसेकेण्ड र सिञ्चित क्षेत्र ३३००० वर्ग किमि रहेको छ ।
तिब्बतदेखि विहारको करसेलासम्म गरेर यसको कूल लम्बाई सात सय २० किमि रहेको छ भने नेपालभित्रको लम्बाई एक सय ५२ किलोमिटर रहेको छ । पूर्वमा लाङटाङ् हिमालदेखि पश्चिममा धौलागिरी हिमालसम्म सप्तगण्डकीका सात सहायक नदीहरुको बहाव क्षेत्रलाई गण्डकी प्रदेशका नामले चिनिन्छ । यो नेपालको सबैभन्दा गहिरो नदी हो यसको नामाकरण गण्डक ऋषिको नामबाट राखिएको हो । यसका सहायक नदीहरुमा कालीगण्डकी बुढीगण्डकी मादी दरौदी त्रिशुली सेती र मर्साङ्दी पर्दछन् । यसलाई चितवन वा तराई प्रवेश गरेपछि नारायणी नदीका नामले चिनिन्छ । यस नदीको विद्युत उत्पादन क्षमता २१००० मेगावाट रहेको छ । पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास हिमालसम्म बहाव क्षेत्र रहेको कर्णाली नदीका सहायक नदीहरुले ओगटेको क्षेत्रलाई कर्णाली प्रदेश भनि चिनिन्छ । यसका सहायक नदीहरुमा सानो भेरी, ठूलो भेरी, मुगु कर्णाली, तिला कर्णाली, हुम्ला कर्णाली, बुढी गंगा र सेती गण्डकी नदीहरु पर्दछन् । यस नदीको कूल विद्युत उप्पादन क्षमता ३२००० मेगावाट रहेको छ ।
नेपालमा जलसम्पदाको अति नै धेरै महत्व रहेको छ । जलसम्पदाको माध्यमबाट हामीले आफैं विद्युत उत्पादन गरेर आत्मनिर्भर हुन सक्दछौं । दैनिक जीवनयापन गर्दा पानीको अति नै ठूलो महत्व रहेको छ । नेपालको तराई भू–भाग कृषिको लागि लाभदायिक मानिन्छ । कृषिको लागि पनि पानी नभई नहुने वस्तु हो । पानीबिना मानिसको अस्तित्व नै समाप्त हुन्छ त्यसैले गर्दा पानीको महत्व मानव जीवन गाईवस्तु तथा निर्जीव जीवनको लागि पनि अत्यावश्यक रहेको छ । पानीको सही सदुपयोग गर्न सकेमा हामी धनी बन्न सक्दछौं । पानी भनेको मुद्रा तथा पैसा पनि हो यसलाई हामीले चिन्न सकेमा देशको आर्थिक उन्नती सम्भव हुने थियो ।
