सडकमा असरल्ल छरिएका शहीदका सपनाहरू

विपना र यथार्थमा परिणत गर्नुभन्दा पहिला सपना देखिन्छ । पहिला सपना देखिन्छ र विपनाका लागि अघि बढिन्छ । शहीदहरूले स्वतन्त्रता, समानता र लोकतन्त्र स्थापनाका लागि सपना देखे र आम जनसमुदायको हितका लागि आफूलाई बलिदान दिन तयार भए । विभिन्न कालखण्डमा लोकतन्त्र र स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी माघ १० देखि माघ १६ सम्म देशभर शहीद सप्ताह मनाउने चलन छ । शहीद भन्ने बित्तिकै हामी सबैले सम्झने गरेका छौं– दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई । उनीहरूले जहाँनिया राणाशासनको विरोध गर्दा प्राणदण्ड दिइएको थियो । उनीहरू लगायत अन्य सम्पूर्ण शहीदको सम्झनामा शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको उत्कर्षका दिन हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरिएको छ ।
शहीद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामा मात्र सीमित छ । वर्षमा एकदिन शहीद दिवस मनाइने गरेको भए पनि देशले अहिलेसम्म शहीदको योगदानको कदर भने गर्न सकेको छैन । तत्कालीन राजा महेन्द्रद्वारा २०१२ सालमा काठमाडौं नगरलाई शहीद दिवस मनाउने आदेश भएदेखि काठमाडौं नगरले शहीद दिवस मनाउँदै आएको छ । त्यसैलाई पछ्याउँदै मुलुकभर शहीद दिवस मनाइन्छ । शहीद दिवसको दिनमा मात्रै शहीदलाई सम्झेर शहीदको योगदानको कदर हुने भने अवश्य होइन । १०४ वर्षे जहाँनिया राणाशासनको जग भत्काएर त्यस शासन व्यवस्थालाई जरैदेखि उखेलेर नेपाली धर्तीमा सुशासन सहितको लोकतान्त्रिक तथा समानतामूलक शासन प्रणाली स्थापना गर्नका निम्ति ज्यानको कुनै प्रवाह नगरी जीवन उत्सर्ग गर्ने महान शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई हरेक वर्ष हामी सम्झन्छौं । नेपाल आमाका यी चारजना होनहार युवालाई राणाशासकले फाँसीको सजाय दिएर रुखमा झुन्ड्याएर र गोली ठोकेर निर्ममतापूर्वक हत्या गरेको दिनलाई हामीहरू शहीद दिवसको रूपमा मनाउँदै आएका छौं ।
वि.सं. १९९७ माघ १० गते राति १२ बजे शहीद शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा बकाइनोको रुखमा झुन्ड्याएर फाँसी दिइएको थियो । त्यस्तै अर्का महान शहीद धर्मभक्त माथेमालाई वि.सं. १९९७ माघ १२ गते राति काठमाडौंको सिफलमा रुखमा झुन्ड्याएर फाँसी दिइएको थियो । अर्का अमर शहीदहरू दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई वि.सं. १९९७ माघ १५ गते राति काठमाडौंको शोभा भगवतीमा गोली हानेर हत्या गरिएको थियो । यी चार जना महान् तथा अमर वीर शहीदहरूको मृत्युदण्डको घटनाले करिब एक शताब्दी लामो नेपालमा निरंकुश तथा जहाँनिया राणाशासनलाई जरैदेखि उखेलेर, फ्याँकेर त्यस ठाउँमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको शासन व्यवस्था स्थापना गर्ने कार्यमा कोशेढुङ्गाको काम गरेको थियो ।
सन्दर्भ : शहीद दिवस
पछिल्लो समय हुलमुलमा परेर मर्ने र रिसइबी लगायतका कारणले मृत्युवरण गरेकालाई पनि शहीदको कोटीमा राख्ने क्रम पनि शुरु भएको छ । हाम्रोसामु वास्तविक शहीद को हुन् भनेर समकालीन नेपालमा अति नै अप्ठ्यारो प्रश्न उठेको छ । नेपाली बृहत शब्दकोष अनुसार आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान दिएर लोकहितमा लाग्ने अमर व्यक्ति शहीद हुन् भनी परिभाषित गरिएको छ । तर, अहिले शहीदका नाममा कुनै आन्दोलनका बेला घरमा बसेका व्यक्तिलाई गोली लागी मरेका वा कुनै निश्चित स्वार्थमा मारिएका व्यक्तिलाई पनि शहीद घोषणा गरिएको छ । समाज र राष्ट्रको हितको लागि बलिदान दिने मात्रै शहीद हुन् ।

अरु आन्दोलन तथा सशस्त्र द्वन्द्वका कारण हुलमुलमा मारिएका आन्दोलन तथा सशस्त्र द्वन्द्वमा सम्बन्ध नरहेका व्यक्ति शहीद नभई पीडित हुन् । अहिलेसम्म को–को वास्तविक शहीद हुन् भन्नेमा राजनीतिक दलहरू मै विवाद छ । शहीदको परिभाषामा समेत राजनीतिकरण भएको छ । तर, राणाशासनको विरुद्धमा बलिदान दिने शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको हकमा भने शहीद हुन् भन्नेमा कुनै दुविधा र दुईमत छैन । आज हामी खुला रूपमा आफ्ना विचारहरू राखिरहेका छौं । गौरव र स्वाभिमानका साथ शिर ठाडो पारेर स्वतन्त्रता र लोकतन्त्रका गीतहरू गाइरहेका छौं । आजको अवस्था सृजना गर्न सयौं, हजारौं महान देशभक्तहरूको त्याग, सौर्य र शहादतले प्रमुख भूमिका खेलेको छ । यो अवस्था शहीदको बलिदानले सम्भव भएको हो । आफ्नो पूरा आयु नबाँची देश र देशवासीका लागि आफ्नो जीवनको बलिदान गरेर अतुलनीय योगदान गरे शहीदहरूले । उनीहरूको नाम स्वर्ण अक्षरले इतिहासमा अंकित छ ।
आज शहीदको बलिदानको उपादेयताका सम्बन्धमा एउटा यक्ष प्रश्न हामीसामु उभिएको छ– इमानदार र स्वाभिमानी प्रवृत्तिका शहीदहरुले आफ्नो जीवनको कुर्वानी गरेर देशले के पायो र देशवासीले के पाए ? घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने शहीदहरूको बलिदानले मुलुकका विपन्न र दुःखीका अनुहारमा कति कान्ति आयो ? स्वाभिमानलाई लिलामी नगरी लाल रगत धर्तीमा पोख्ने शहीदका बलिदानले आजका कलिला नानीका गालामा कति लाली ल्यायो ? रूढीवादी, असमानता, शोषण र विभेदको पक्षपाती समाजलाई भत्काएर नवीन–नूतन समाजको परिकल्पना गर्दै सोही अनुरूप संगठित रूपमा अघि बढ्दै जाँदा बलिबेदीमा होमिएका हुन् शहीदहरू । स्वतन्त्रताप्रतिको अगाध आस्थासहित दृढ़ संकल्प बोकेर देशमा व्याप्त अत्याचारका विरुद्धमा बिगुल फुक्ने शहीदको पुकार आजका सरकारले सुनिरहेको छ ? वैचारिकरुपमा लोकतन्त्र र गणतन्त्रका लागि हाँसी–हाँसी तातो गोली थापेका नेपाल आमाका सर्वोत्तम सन्तानहरुको रगतको मूल्यको मूल्यांकन भइरहेको छ ?
मुठी उचालेर क्रान्तिकारी बाटो चुन्नु भन्न जति सजिलो छ, व्यवहारमा त्यति नै अप्ठेरो छ । मानिसका लागि आफ्नो जीवनभन्दा प्यारो केही हुन्न, तर शहीदका लागि त मुलुक र मुलुकबासी आफ्नो प्राणभन्दा प्यारा भए । हाँसी–हाँसी गोली थाप्नु कहाँ सजिलो छ र ! समाजलाई निरंकुशताका जञ्जिरले बाँधेका बेलामा यथास्थितिका विरुद्धमा सतीसाल झैं उभिनु र सबैभन्दा प्रिय आफ्नो जीवन नै बलिदान गर्नु भन्न जति सजिलो छ, व्यवहारलाई सम्झँदा मात्र पनि बाँचेकाको लागि मन भय र त्रासले भरिन्छ । भोकानाङ्गा जनताका लागि सहानुभूति देखाउनु र उनीहरुका लागि जीवनको न्यौछावर गर्नु चानचुने कुरा होइन ।
ओजस्वी विचारका धनी शहीदहरूले दिशानिर्देश गरेको बाटोमा आज मुलुक हिँडिरहेको छ कि छैन ? आज हामीले घोत्लिनुपर्ने बेला आएको छ । सही बाटो हिँड्दै छौ कि भुल्यौ ? लोकतन्त्र विरोधी राणाशासन र पञ्चायतका हिमायती मात्र होइन, बहुदलीय व्यवस्थाभित्रका सरकारहरूले पनि बौलाएर सकारात्मक सोचका धनी नेपाल आमाका हजारौंहजार सन्ततिमाथि गोली बर्साए । वर्षौंवर्षसम्म जेलभित्रका सेलहरूमा बन्दी बनाइयो र कुनै अमूक निर्जन वनमा कुनै कालो रातमा प्राणपखेरु उडाइयो । निरंकुश शासकका अभेद्य जालो च्यातेर अकरिला उकालो हिँड्दा शहीदहरु कहिले पनि शिर निहुराएर लत्रेनन् । आफ्नै दाजुभाइ, दिदीबहिनीमाथि गोली बर्साउनेहरू नेपाल आमाका सपूत वा सन्तान होइनन्, उनीहरु त नरपशु हुन् र कपूतहरु हुन् ।
समय कति बलवान छ– शहीदहरु सबैभन्दा माथि मुस्कुराएर प्रत्येक जनजनका मनमनमा स्थापित छन्, जनताका छोराछोरीमाथि नृशंस दमन गर्नेहरु घृणित पात्रका रुपमा अभिषप्त जीवन बाँचिरहेका छन् र कतिपय मूल्यहीन बाँचेर यस धरतीबाट बिदा भइसकेका छन् । उनीहरूको कुनै सुनाम छैन । दुनियाँले शहीदका हत्यारा भनी तिनीहरूलाई थुकिरहेका छन् । हातमा बन्दूक हुने बित्तिकै सत्ताको उन्मादले आफ्नै देशवासीलाई छातीमा गोली दाग्नेहरु शहीद दिवसमा लामालामा स्वतन्त्रताका भाषण दिनसक्छन्, लच्छेदार शहीद गाथा गाउन सक्छन् र आफ्नो नियन्त्रण र प्रभावमा रहेका टेलिभिजनका पर्दामा तप्लकतप्लक गोहीका आँसु झार्न सक्छन् । स्मरणशक्ति कमजोर हुनेका लागि उनीहरुको अभिनय वास्तविक लाग्न सक्छ र उनीहरु वास्तविक लोकतन्त्रका हिमायती लाग्न सक्छन् । नक्कली र ढोङ्गी प्रधानमन्त्री, मन्त्री र नेताहरूको भाषण सुन्दा हामी आफैं भ्रममा पर्न सक्छौं र शहीदको बलिदान फिका लाग्न सक्छ । तर, वास्तविकता भनेको लोकतन्त्र र स्वतन्त्रताका लागि बलिबेदीमा चढेका नौजवान नेपाल आमाका महान सन्तान हुन् र हामी सदैव शहीदहरूको ऋणी रहनेछौं ।
नेपाल आमाका वीर सपूत र क्रान्तिकारीहरूको असीम त्याग र समर्पणका कारणले नै आज हामी अहिलेको अवस्थामा छौं । त्यसैले त ‘शहीदको सम्झनामा’ कवितामा कवि भूपि शेरचन भन्छन्– हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा धड्कन छ शहीदको । घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने शहीदहरूको बलिदानले मुलुकका विपन्न र दुःखीका अनुहारमा कति खुशी आयो ? शहीदका बलिदानले आजका कलिला नानीका गालामा कति उज्यालो आयो ? आज यी प्रश्नहरू फगत प्रश्नका रूपमा मात्र छैनन्, यी प्रश्नको सटिक उत्तरको प्रतीक्षा छ समयलाई ।
नेपालमा यति बेला पञ्चदलीय गठबन्धनको अत्यन्तै बलियो सरकार छ । लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार र अन्त्यहीन विवादको श्रृंखलाका बीचबाट गुज्रँदै आएको देशको आर्थिक, सामाजिक, शैक्षिक रूपान्तरण सुस्त गतिमा छ । जनताका आशा र अपेक्षाहरू आकाशिएका छन् तर शहीदको कसम खाएका दलहरू आफैंले जनसमक्ष आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउने प्रतिबद्धता भुलिरहेका छन् र सत्ताको लुछाचुँडीमा कुकुर–बिरालाको खेलमा व्यस्त छन् । आधुनिक, सम्पन्न र समृद्ध नेपालको निर्माणमा लोकतन्त्रको स्थापना गरी सोही अनुरूपको अभ्यासको माध्यमबाट अघि बढ्दा मात्र जनादेश र मतादेशको सम्मान हुने निश्चित छ । जनताका सामु श्रेष्ठता कायम गरेर मात्र शासन गर्नुपर्छ भन्ने मान्यता अनुरूप अघि बढ्दा शासकको कोपभाजनमा परेर वामपन्थी सोच र दर्शनका अनुयायीहरू बढी संख्यामा शहीद भएका छन् हाम्रो देशमा । साँच्चै भन्ने हो भने नेपाल कम्युनिष्ट पार्टी त शहीदको विरासत नै हो भने हुन्छ ।
नेपालका हरेक गाउँबस्ती शहीदका गाउँ भएका छन् । तर, यो सच्चाइलाई ग्रहण गरेर सोही अनुरूपको व्यवहार कम्युनिष्टरूले गर्न सकिरहेका छैनन् । आज नेताहरू विनम्र र जनसेवक हुनुपर्नेमा अहंकार र दम्भले भरिएका छन्, उनीहरू लोभलालच र तृष्णाले वशिभूत भएका छन्, उनीहरूलाई महत्वाकांक्षाले गलाएको छ । शहीदको रगतले लत्पतिएको पार्टीको नाम र झण्डालाई च्यातच्युत पारेका छन् उनीहरूले । उनीहरू शहीदले देखाएको बाटोबाट विचलित भएर व्यक्तिगत स्वार्थ र दलगत आग्रहको दलदलमा फँस्दै गएका छन् । जनताको प्यारो भएर जनताको बीचमा आफूलाई श्रेष्ठ प्रमाणित गर्नुपर्नेमा आफैं मपाईं बनेर जनताभन्दा माथि आफूलाई सम्झन थालेका छन् । आठ दशकदेखिको नेपाली जनताको सपना हावामा धुलो झैं उड्दैछ । शहीद दिवसको यो अवसरमा शहीदको बलिदानलाई ग्रहण गरी मुलुक र मुलुकबासीको हितमा कार्यक्रम र कार्ययोजना बनाई नेपाललाई केन्द्रविन्दुमा राखी नेपालका सबै दलहरू सोही अनुरूप अघि बढ्नेमा विश्वास गर्न सकिन्छ । शहीद दिवसमा सबैभन्दा ठूलो धर्म जनसेवा, सबैभन्दा ठूलो कर्तव्य मुलुकको रक्षा हो भन्ने सच्चाइलाई ग्रहण गर्न सबैलाई उत्प्रेरणा प्राप्त हुनेछ अपेक्षा गर्न सकिन्छ ।
