September 22, 2026

उमानाथ भण्डारी,
कमल ।

कमल गाउँपालिकाले स्थानीय युवलाई सिपमूलक तालिम दिएर व्यावसायिक बनाउने उद्देश्यले विभिन्न तालिम सञ्चालन गर्दैछ ।

पछिल्लो समय गाउँपालिकाले गाउँमै रहेका वेरोजगार युवा तथा कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सिपमूलक तालिम प्रदान गरी गाउँ मै रोजगारी सृजना गर्ने उद्देश्यले यस्ता तालिम प्रदान गरिएको हो । गाउँपालिकाको आयोजना तथा उद्यमशील महिला जागरण केन्द्रको व्यवस्थापनमा गाउँमा रहेका युवालाई एकहप्ते कफी (वारेस्ता) बनाउने तालिम शुरु भएको छ ।

कफी सबैको प्रिय पेयपदार्थका रुपमा विकास हँुदै गएको र यो व्यवसायतर्फ युवाहरुको आकर्षण समेत बढेकाले तालिम आयोजना गरेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय कफी सबैको प्रिय पेयपदार्थका रुपमा विकास भइरहेकोले यो व्यावसायबाट युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने उद्देश्ययले तालिम आयोजना गरिएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

गाउँपालिकाले भौतिक तथा पूर्वाधारका क्षेत्रमा धेरै काम गर्यो तर यसले मात्र समृद्ध नेपाल सुखी नेपाली बन्न सक्दैन, सबै जनाता खुशी हुन पनि सक्दैनन् । बिना सिप वैदेशिक रोजगारीमा जाँदा धेरै युवायुवतीले दुःख पाउने गरेका छन् । त्यसैले सिप सिकेर आफ्नै गाउँघरमा पनि व्यवसाय सञ्चालन गर्न सकिने र वैदेशिक रोजगारीमा जाँदा पनि राम्रो काम गाउन सकिने भएकोले गाउँपालिकाको तर्फबाट सिपमूलक तालिम प्रदान गरिएको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटीले बताए ।

संस्थाले गाउँपालिकाको सहयोगमा महिलाका लागि सिप विकासका साथै क्षमता अभिवृद्धि सम्बन्धी थुप्रै तालिम प्रदान गरिसकेको छ । तालिमपछि उनीहरुले आफ्नै व्यवसाय सञ्चालन गरेर आफू र आफ्नो परिवारलाई रोजगारी सृजना गरेको उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालले बताइन् ।

कार्यक्रममा वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, सशक्तिकरण केन्द्रकी सचिव ममता गुरुङ लगायतको उपस्थित रहेको थियो । तालिमको सहजीकरण प्रकाश कटुवाल र अंकित दाहालले गरिरहेको बताइएको छ ।

संस्थाकी सदस्य नन्दा मेन्याङ्वोले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य सीता राई शेर्पाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *