September 21, 2026

बाह्रदशीका सुत्केरीलाई घर–घरमै पोषिलो आहार

0
झापा, बाह्रदशी गाउँपालिकाले सुत्केरी महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ । सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘सुत्केरी महिला हेरचाह’ कार्यक्रम सञ्चालन गरेको हो ।
यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले सुत्केरी महिलालाई घरमै पुगेर पोषिलो खानेकुरा प्रदान गर्नुका साथै न्यानो कपडा दिन शुरु गरेको हो । बाह्रदशी गाउँपालिकाको वडा नम्वर ४ स्थित सन्थाल बस्तीबाट शुरु गरिएको यो कार्यक्रम निरन्तर सञ्चालन गरिने गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले बताइन् ।


बाह्रदशीकी उपाध्यक्ष रत्ना कुमारी राजवंशी सुत्केरी महिलालाई पोषिलो आहार प्रदान गर्दै ।

कार्यक्रमको शुरुवात गर्दै उपाध्यक्ष राजवंशीले भनिन्– यो कार्यक्रम साउनबाट नै शुरु गर्ने भनेका थियौं, केही प्राविधिक कारण समयमा सञ्चालन गर्न सकिएन, अब भने निरन्तर सञ्चालन हुनेछ । स्वास्थ्यकर्मी महिला स्वयम्सेविका सहित कार्यक्रम सञ्चालन गरेकै दिन उपाध्यक्ष राजवंशी गाउँपालिकाका सुत्केरी महिलाको घर–घर पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्थाको विषयमा समेत जानकारी लिएकी थिइन् ।
उनले कार्यक्रम सञ्चालन भएको पहिलो दिन १० जना सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्दै पोषिलो खानेकुरा र न्यानो कपडा प्रदान गरेकी हुन् । गाउँपालिकाले यसअघि गर्भवती महिलालाई स्वास्थ्य परीक्षण (भिडियो एक्स–रे) का लागि एक हजार पाँच सय रुपैयाँ प्रदान गर्दै आएको थियो । त्यसो त महिलाको प्रजनन् स्वास्थ्यलाई मध्यनजर गर्दै तीन तहका सरकारका अहिले बिभिन्न खाले कार्यक्रम सञ्चालित छन् ।

बाह्रदशीकी उपाध्यक्ष रत्ना कुमारी राजवंशी सुत्केरी महिलालाई पोषिलो आहार प्रदान गर्दै । 

विशेष गरी गर्भवती महिलालाई लक्षित गर्दै आमा सुरक्षा कार्यक्रम, सुनौलो हजार दिन जस्ता निक्कै प्रभावकारी कार्यक्रम सञ्चालित छन् । यसका अलावा किशोरावस्थादेखि नै बिद्यालय शिक्षा, लैङ्गिक सचेतना, प्रजनन् स्वास्थ्य आदिका विषयमा जानकारी दिन तीन तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी हुनु पूर्व महिलाको स्वास्थ्य जाँच र सुत्केरी पछिको जाँचलाई पनि निक्कै महत्व दिइएको छ । गर्भवती महिलालाई गर्भ रहेको ४, ६, ८ र ९ महिनामा नियमित गर्भ जाँच गराउँदा प्रतिपटक गर्भ जाँच गराए बापत सरकारले चार सय रुपैयाँका दरले एक हजार ६ सय रुपैयाँ र सुत्केरी भएपछि पछि तीनपटक स्वास्थ्य जाँच गराउँदा प्रतिपटक तीन सयका दरले एक हजार दुई सय रुपैयाँ प्रदान गर्दै आएको छ ।
सुनौलो हजार दिन अन्तर्गत नवजात शिशु तीन वर्षको नहुञ्जेलसम्म सरकारले स्वास्थ्य संस्थामार्फत आमा र बच्चाको स्वास्थ्य जाँचलाई प्राथमिकतामा राखेको छ । सोसँगै सरकारले प्रजनन् स्वास्थ्यमा नै महिलाको निःशुल्क पाठेघर जाँच, क्यान्सर रोग पत्ता लगाउन गरिने स्वास्थ्य परीक्षण भीआइए जाँच, परिवार नियोजन साधन, एचआईभी जाँच गर्दै आएको छ ।
पछिल्लो समय झापाका १५ वटै स्थानीय तहका जनप्रतिनिधिले समेत महिलालाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसै क्रममा बाह्रदशी गाउँपालिकाले पनि विगतका वर्षदेखि नै महिलालाई उच्च प्राथमिकतामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *